कांग्रेस–फोरम–राजपा मिले प्रदेस नं. २ मा८ सिट बाहेक सबै सिट जीत सुश्निचित

सन्जिब बगाले  2551 पटक हेरिएको

मंसिर १० र २१ गते देशका ७ प्रदेशमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सबैभन्दा रोचक  प्रतिस्पर्धा प्रदेश नम्बर २मा हुने देखिएको छ। अन्य प्रदेशमा दुई/ तीन मात्र पार्टी प्रतिस्पर्धामा छन् भने यहाँ तीन राष्ट्रिय पार्टी र दुई मधेसवादी दल मुख्य प्रतिस्पर्धामा छन्।

एमाले र माअोवादीबीच गठबन्धन बनेर दुबै पार्टीका संयुक्त उमेदवार तय हुने क्रममा छन् भने कांग्रेस, राजपा र संघीय समाजवादी फोरम पनि चुनावी तालमेलको अन्तिम कसरतमा छन्। राजपा-फोरमको चुनावी तालमेलले धेरै आकार ग्रहण गरिसकेको छ भने कांग्रेससँगको तालमेलको छलफलले पनि तीव्रता पाएको छ।

सेतोपाटीले दुई नम्बर प्रदेशका आठ जिल्लाका वडा तहमा यी पाँचै पार्टीले पाएको मत विश्लेषण गरेको छ। त्यो विश्लेषणले एमाले र माओवादीले चुनावी गठबन्धन बनाइसकेको अवस्थामा स्थानीय तहको निर्वाचनमा दुई नम्बर प्रदेशमा सबैभन्दा धेरै मत ल्याएका तीन पार्टी कांग्रेस, फोरम र राजपाबीच चुनावी तालमेल अवश्यम्भावी देखिन्छ।

त्यसको मूल कारण हो — यी तीनै पार्टी मिलेर लड्दा र छुट्टाछुट्टै लड्दा निर्वाचन परिणाम आनकातान फरक पर्छ।

तीनै पार्टीले चुनावी तालमेल गरे भने उनीहरूले दुई नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये २६मा जित्न सक्छन्।

तालमेल नगरी उनीहरु एक्लाएक्लै लडे भने वाम गठबन्धनले ३२ निर्वाचन क्षेत्रमध्ये २२ वटामा क्षेत्रआफ्नो पोल्टामा पार्न सक्छ।

२ नम्बर प्रदेशमा पर्ने आठै जिल्लामा  चार-चार निर्वाचन क्षेत्र छन्। हामीले सप्तरीदेखि पर्सासम्म हेरक जिल्लामा पार्टीहरूले स्थानीय तह चुनावमा वडा स्तरमा पाएको मतका आधारमा कांग्रेस, फोरम र राजपाबीच चुनावी तालमेलको सम्भावनाको विश्लेषण गरेका छौं।

सप्तरी

सप्तरीमा फोरम र राजपाले गठबन्धन गरेनन् भने कांग्रेस र वाम गठबन्धनले सप्तरीका चार क्षेत्रको नतिजा बाँड्ने छन्।

त्यो अवस्थामा सप्तरीका ३ क्षेत्रमा कांग्रेस बलियो हुनेछ भने १ क्षेत्रमा वाम गठबन्धन।

सप्तरी क्षेत्र नम्बर १, ३ र ४ मा कांग्रेस अगाडि हुनेछ भने सप्तरी क्षेत्र नम्बर २ मा वाम गठबन्धन अगाडि हुनेछ।

तर राजपा–फोरमले चुनावी तालमेल गरे भने उनीहरुले तीनै निर्वाचन क्षेत्रमा  अगाडि हुनेछन्।

यदि कांग्रेस-फोरम-राजपाबीच चुनावी गठबन्धन बन्यो भने सप्तरीमा यो गठबन्धन र वाम गठबन्धनबीच यति ठूलो मतान्तर हुनेछ कि सप्तरीका चारै सिटमा वाम गठबन्धनले हार्ने निश्चित जस्तै हुनेछ।

सिराहा

सिरहामा फोरम र राजपा धेरै कमजोर छन्, त्यसैले उनीहरूबीच मात्रै तालमेल हुनु वा नहुनुले खासै महत्व राख्दैन।

यो जिल्लामा वाम गठबन्धन सबैभन्दा बलियो छ भने राजपा सबैभन्दा कमजोर। कांग्रेस, राजपा र फोरमबीच चुनावी तालमेल भएन भने यो जिल्लाका चारै क्षेत्रमा वाम गठबन्धनले जित्ने बलियो सम्भावना  छ।

कांग्रेस–राजपा–फोरमबीच तालमेल भयो  भने सिराहाका क्षेत्र नम्बर १,२ र ३ मा उनीहरुको मत वाम गठबन्धनको भन्दा धेरै हुन्छ। सो अवस्थामा वामगठबन्धनले सिराहा क्षेत्र नम्बर ४ मात्रै जित्ने सम्भावना हुन्छ।

धनुषा

धनुषाका ४ क्षेत्रमा वाम गठबन्धन र कांग्रेसले २/२ क्षेत्रमा बलिया छन्। स्थानीय चुनावको मतपरिणाम अनुसार धनुषा क्षेत्र नम्बर १ र २ मा वाम गठबन्धन अगाडि छ भने क्षेत्र नम्बर ३ र ४ मा कांग्रेस।

फोरम र राजपा एक्लाएक्लै चुनाव लड्दा धनुषाका कुनै पनि निर्वाचन क्षेत्रमा जित्न सक्ने सम्भावना छैन।

तर फोरम-राजपा गठबन्धन बन्यो भने धनुषा क्षेत्र नम्बर ४मा उनीहरु बलिया हुनेछन्।

यदि कांग्रेस–फोरम–राजपाबीच  तालमेल भयो भने वाम गठबन्धन धनुषाको एउटा मात्र निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा आउनेछ भने एउटा सिट जित्न मुश्किल पनि पर्नेछ।

महोत्तरी

वाम गठबन्धन महोत्तरीका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा बलियो छ। स्थानीय तहको चुनावमा वाम गठबन्धन महोत्तरी क्षेत्र नम्बर १, ३ र ४ मा बलियो देखिएको छ। लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएकोले महोत्तरी २ मा भने कांग्रेस बलियो छ।

तर फोरम–राजपाबीच मात्र पनि चुनावी तालमेल हुने हो भने उनीहरू क्षेत्र नम्बर २, ३ र ४ मा बलियो हुनेछन्।

यदि कांग्रेस–फोरम–राजपाबीच तालमेल भयो महोत्तरीका चारै क्षेत्रमा उनीहरु बलियो हुनेछन्। वाम गठबन्धन सबैभन्दा बलियो देखिएको माओवादी नेता गिरिराजमणि पोख्रेलको क्षेत्रमासमेत कांग्रेस-फोरम-राजपा केही मतले अगाडि हुनेछन्।

सर्लाही

सर्लाहीका चार क्षेत्रमध्ये वाम गठबन्धन ३ क्षेत्रमा बलियो रहेको स्थानीय तहको नतिजाले देखाएको छ। सर्लाही क्षेत्र नम्बर १, ३ र ४ मा वाम गठबन्धन बलियो देखिएको छ। सर्लाही २ मा भने राजपा एक्लै पनि बलियो देखिन्छ। राजपा–फोरमबीच चुनावी तालमेल भयो भने यी दुई दल क्षेत्र नम्बर २ मा मात्रै बलियो हुनेछन्।

तर कांग्रेस–राजपा–फोरमबीच तालमेल भयो भने उनीहरु सर्लाही २ र ४ मा बलियो हुनेछन्। वाम गठवन्धन बाँकी दुई क्षेत्रमा बलियो हुनेछ।

रौतहट

माओवादी नेता प्रभु साहको गृहजिल्ला रौतहटमा कांग्रेस-फोरम-राजपाबीच चुनावी तालमेल नहुने हो भने चारै क्षेत्रमा वाम गठबन्धन अगाडि रहने तथ्यांकले देखाएको छ।

राजपा र फोरमबीच चुनावी तालमेल भयो भने पनि वाम गठबन्धनलाई ठूलो असर पर्दैन। कांग्रेस–फोरम–राजपाबीच तालमेल भयो भने क्षेत्र नम्बर १ मा वाम गठबन्धन कमजोर बन्नेछ।

कांग्रेस-राजपा-फोरमबीच तालमेल भयो भने पनि वाम गठबन्धन रौतहटका दुई निर्वाचन क्षेत्र ३ र ४ मा बलियो नै रहने छ।

क्षेत्र नम्बर २ मा भने लोकतान्त्रिक फोरमका नेता पूर्वसांसद मुस्ताक आलम एमालेमा प्रवेश गरेपछि उनले आफूसँग कति मत वाम गठबन्धनमा लैजान सक्छन्, चुनावी परिणाम त्यसैमा भर पर्ने देखिन्छ।

बारा

स्थानीय तहको निर्वाचनमा आएको मतलाई आधार मान्ने हो भने बाराका चारै क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ। राजपा–फोरमबीच तालमेल भयो भने उनीहरु क्षेत्र नम्बर २मा बलियो हुनेछन्।

तर कांग्रेस–फोरम–राजपाबीच चुनावी तालमेल भयो भने बाराका चार वटै क्षेत्रमा उनीहरुको वर्चश्व हुनेछ, वाम गठबन्धन सबै क्षेत्रमा पछि पर्नेछ।

पर्सा

पर्सा क्षेत्र नम्बर २ र ३ मा कांग्रेस बलियो देखिन्छ। पर्सा १ मा फोरम बलियो छ भने पर्सा ४ मा वाम गठबन्धन बलियो देखिन्छ।

फोरम र राजपा मात्र मिल्दा पर्सा २ मा उनीहरु बलियो हुन्छन्।

पर्सामा पनि कांग्रेस–राजपा–फोरम मिले भने उनीहरू नै पर्साका चारै क्षेत्रमा बलियो हुनेछन्। त्यो अवस्थामा वाम गठबन्धनलाई १ सिट पनि जित्न पनि कठिन हुनसक्छ।

यसरी दुई नम्बर  क्षेत्रमा कांग्रेस-फोरम-राजपाबीच चुनावी तालमेल हुँदा वा नहुँदा निर्वाचन परिणाम आनकातान फरक पर्ने देखिन्छ।

उनीहरूबीच तालमेल भएन भने त्यसको फाइदा वाम गठबन्धनलाई हुनेछ। त्यो अवस्थामा एमाले–माओवादी गठबन्धन २२ क्षेत्रमा बलियो हुनेछ। कांग्रेस ८ क्षेत्रमा बलियो हुनेछ भने फोरम र राजपा १–१ क्षेत्रमा मात्र बलियो देखिन्छन्।

यदि फोरम–राजपाबीच मात्र तालमेल भयो भने उनीहरु १२ वटा क्षेत्रमा बलियो हुनेछन्। त्यसपछि वाम गठबन्धन १८ क्षेत्रमा मात्रै बलियो बन्छ।

यसको सबै भन्दा ठूलो घाटा कांग्रेसलाई पर्नेछ।

वाम गठबन्धन र राजपा-फोरम गठबन्धन मात्र बनेको अवस्थामा कांग्रेस प्रदेश नम्बर २ क्षेत्रमा मात्रै बलियो बन्छ।

तर यदि कांग्रेस–राजपा–फोरमले गरेको तालमेलको प्रयास सफल भयो भने उनीहरू २६ स्थानमा बलियो हुनेछन्, यो प्रदेशमा वाम गठबन्धनको पकड ६ निर्वाचन क्षेत्रमा सीमित हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार