सरकारलाई प्रचण्डको चेतावनी : चुनाव सारे संसद ब्यूँतिन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बाहनामा चुनाव सारिए संसद ब्यूँतिने भन्दै त्यसको सामना गर्न तयार रहन सरकारलाई चेतावनी दिएका छन्। माओवादी नेता लक्ष्मण पन्तद्वारा लिखित ‘आधुनिक नेपालको इतिहास’ पुस्तक बिहीबार प्रज्ञा भवनमा विमोचन गर्दै प्रचण्डले चुनाव सारिए संसद ब्यूँतिने चेतावनी दिएका हुन्।  सर्वोच्च अदालतले मतपत्रसम्बन्धी रिटमा सुनुवाई गर्दै प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा भइरहेको प्रगतिको विवरण ३ दिनभित्र पेस गर्न निर्वाचन आयोगलाई बुधबार निर्देशन दिएको थियो। त्यसलाई चुनाव सार्ने षड्यन्त्रको संज्ञा दिँदै प्रचण्डले भने, ‘जनता चुनावमा गइसकेको र संसद भ‌ंग भइसकेको अवस्थामा यस्तो फैसला गर्न हुँदैनथ्यो, निर्वाचन रोक्न खोजे संसद स्वत: आउँछ, त्यसपछि के होला भन्ने परिस्थितिले देखाउँछ।’ मंसिर १० गतेको चुनावका लागि उम्मेदवारीसमेत दर्ता गराइसकेको अवस्थामा आएको अदालतको फैसलाले चुनावबारे अन्योलता सिर्जना गरेको उनको भनाइ छ। प्रचण्डले यसबारे बाम गठबन्धनमा आबद्ध दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफूले छलफल गरिरहेको बताए।   ‘बिहान ओलीजीसँग छलफल भयो, अहिले पनि एकघण्टाको बीचमा उहाँले मलाई ३ वटा सन्देश पठाइसक्नुभएको छ,’ प्रचण्डले भने, ‘एकातिर उम्मेदवारहरु टुंग्याउनुपर्ने छ, अर्कोतिर मुलुकमा नयाँ परिस्थिति देखा परेको छ।’ साथै उनले चुनाव सारिए त्यसले मुलुक र संविधान कार्यान्वयनलाई राम्रो नगर्ने पनि बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार