फोरम र राजपा सिट बाँडफाँटको सहमति नजिक

चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ ।

दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली काँग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनिष सुमनले जानकारी दिए।

‘काँग्रेस र फोरमसँगको वार्ता करीब सहमति नजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्न सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौँ’– उनले भने।

समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य राम नरेशराय यादवले उम्मेदवारको तालमेलबारे करीब सहमति नजिक पुगेको बताए।

प्रतिनिधि र प्रदेशसभामा कस्ता र कुन उम्मेदवारलाई उठाउने भन्नेबारे केही असमझदारी रहेकाले त्यो चाँडै टुंगिने उनको भनाइ छ।

दुई पार्टीबीच प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको बताइएको छ। फोरम–राजपाले काँग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेअनुरुप छलफल चलिरहेको छ। फोरम र राजपाबीच सहमति भएपछि मात्रै काँग्रेससँग छलफल गर्ने नेता सुमनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार