ठूला पार्टीहरुको नश्लिय चरित्र उदाङ्एको छ– सघीय फोरमका एक्ला ‘शेर्पा’ उम्मेदवार

सोलुखुम्बु, ६ कात्तिक । आगामी मंसिर १० गते प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ३७ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यसैगरी प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा पनि सोही दिन निर्वाचन हुदैछ ।

पहिलो चरणमा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा निर्वाचन गरिदैछ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरुले आइतबार नै सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयनपत्र दर्ता गराएका छन् ।

युवा नेता ल्हाक्पा शेर्पाले पनि आइतबार प्रतिनिधिसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवारी दर्ता गराएका छन् ।
तर उनी पहिलो चरणमा हुन लागेको निर्वाचनमा शेर्पा समुदायबाट प्रतिनिधिसभाका लागि प्रतिनिधित्व गर्ने एक्लो उम्मेदवार बनेका छन् । सरकारले नेपालमा शेर्पा समुदायको जनसंख्या एक लाख १२ हजार रहेको जनाएको छ । तर शेर्पाजन्य संस्थाहरुले नेपालका २२ जिल्लामा करिब ५ लाख शेर्पाहरु बसोबास गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा विभिन्न दलहरुको सहित ३२३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् । तर पहिलो चरणको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल बाहेक कुनै पनि राजनीतिक दलले शेर्पा समुदायलाई प्रतिनिधिसभा (संघीय व्यवस्थापिका संसद)को लागि उम्मेदवार बनाएका छैनन् ।
‘म मात्रै भाग्यमानी परेँ, ३२ जिल्लामा म एक्लो शेर्पा उम्मेदवार बनेको छु,’ संघीय समाजवादी फोरम नेपालनिकट शेर्पा प्रदेश समितिका अध्यक्षसमेत रहेका ल्हाक्पा शेर्पाले भने, ‘अरु दलहरुले जतिसुकै समावेशी र समानुपातिकको कुरा गरे पनि शेर्पालाई स्थान दिन चाहेनन् ।’

 

उनले संघीय समाजवादी फोरमले आफूलाई उम्मेदवार बनाएकाले संघीय समाजवादी फोरम मात्रै मुलुकको जातीय भाषिक विविधता अनुसार समानुपातिक समावेशी नीति स्थापित गर्न चाहने दल भएको बताए ।
उनले शेर्पा समुदायको भाषा, संस्कृति र पहिचान तथा विकास र समृद्धिको लागि आफू निरन्तर लागिरहने प्रष्ट पारे । शेर्पा समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनका पहिचान सहितको प्रदेश निर्माणको पक्षमा दृढ रहेका दलहरुले मात्रै भूमिका खेल्न सक्ने उनको ठहर छ ।

‘कांग्रेस, एमाले र माओवादीजस्ता ठूला भनिएका पार्टीहरुबाट जातीय र वर्गीय मुक्ति सम्भव देखिएन,’ उनले थपे, ‘म सिंगो शेर्पा समुदायको प्रतिनिधिको रुपमा उभिएको छु । अब सबैखाले जातीय र वर्गीय असमानता र विभेद निमूल पार्ने हो भने परिवर्तन र अग्रगमन पक्षधर जनताले राम्रोसँग विचार गरेर मात्रै मतदान गर्नुपर्ने बेला आएको छ ।’ source : sarbajanik

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार