जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

सिन्ह्वा  531 पटक हेरिएको

टोकियो, ६ कात्तिक  । जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ ।

जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै हिजो आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो ।

जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ । जापानको प्रतिनिधि सभा ४६५ सदस्यीय छ ।

त्यसैगरी उहाँको सत्ता गठबन्धनमा रहेको अर्काे दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ । यो यहाँको संसदको दुई तिहाई बहुमत हो ।

जापानी र अरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको दल र उहाँको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको जनाएका छन् ।

टोकियोबाट प्राप्त समाचारहरुमा दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरुको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित हुनुभएको समाचार विश्लेषणहरु गरिएको छ ।

जापानी राष्ट्रिय प्रशारण संस्था एनएचकेले दिएको जानकारीअनुसार अझै पनि संसदका १० वटा स्थानको मत परिणाम आउन बाँकी रहेको छ । मत गणना अझै जारी नै रहेको बताएको छ ।

तर अहिलेसम्म प्राप्त परिणाममा सत्ताधारी दलको गठबन्धनले स्पष्ट रुपमा नै दुई तिहाई बहुमत हासिल गरिसकेको बताइएको छ ।

यसअघि संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उहाँको दल र गठबन्धनले गरी २९० स्थान हासिल गरेको थियो । सत्ताधारी साझेदार अर्काे दलको समेत गरी संसदमा ६५ प्रतिशत स्थानमा रहेको थियो ।

प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गर्नुभएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार