पाेखरामा सरसफाइ अभियान जारी

रासस  294 पटक हेरिएको

पोखरा, ५ कात्तिक ।  ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषका साथ यहाँ जारी बृहत् सफाइ अभियान मुसलधारे वर्षा, बन्द, हड्ताल, तथा विभिन्न चाडपर्वले समेत रोक्न सकेको छैन ।

डेढ वर्षअघिदेखि शुरु गरिएको अभियानअन्तर्गत शनिबार भाइटीकाका दिन ७३ आँैं हप्ताको सरसफाइ पोखरा लेखनाथ महानगरपालिका– ११ फूलबारीस्थित रामेश्वर मन्दिर परिसरमा सम्पन्न भएको नागरिक समाजका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिद्धिबक्स गण, फूलबारी ब्यारेकका सहायक सेनानी तीर्थ बस्नेतले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेको कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराउनुभएको थियो ।

सफाइ अभियानमा नेपाली सेना, फूलबारी क्लब, मुक्तिनाथ बैंक, ओम डेभलपमेन्ट बैंक, जनप्रतिनिधि, वडा बालमञ्च, युवा ताइक्वान्दो समूह, स्थानीय सामाजिक अगुवा र विभिन्न क्षेत्रका अभियानकर्मीको सहभागिता थियो । आगामी हप्ताको सफाइ अभियान महानगरपालिका– ९ स्थित नागढुंगादेखि १७ मुस्ताङ चोकसम्म हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार