भोजपुरबाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवार बन्दै अजम्बर काङमाङ

भाेजपुर, ४ कात्तिक । संघीय समाजवादी फोरम नेपालका नेता अजम्बर राई काङमाङ भोजपुरबाट प्रदेशसभा सदस्य निर्वाचनमा उठ्ने भएका छन् ।

नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच भोजपुरमा चुनावी तालमेल गरिएको छ । भोजपुरबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट उमेशजंग रायमाझी उठ्दैछन् भने प्रदेशसभा सदस्यका लागि प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट संघीय समाजवादी फोरम नेपालका सचिव समेत रहेका काङमाङ उठ्नेछन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट भने नेपाली कांग्रेसका गोविन्द कार्की उम्मेदवार बन्ने भएका छन् । दुई दलबीचको सहमति अनुसार कांग्रेसले संघीय फोरमका माङमाङलाई र संघीय फोरमले कांग्रेसका उम्मेदवारलाई भोट हाल्नेछन् ।

भोजपुरबाहेक अन्य जिल्लामा भने कांग्रेससँग तालमेल गरिएको छैन । पहिलो चरणको निर्वाचन आगामी मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच चुनावी तालमेलका लागि कार्यदल नै गठन गरी छलफल गरिएको थियो ।

तर हाल भोजपुरबाहेक अन्य जिल्लामा दुवै दलले आआफ्नाे उम्मेवार उठाउने पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
उनले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको हकमा कांग्रेससँग तालमेलको कुराकानी जारी राखिने बताए ।

भाेजपुरमा प्रतिनिधिसभाकाे निर्वाचनका लागि एउटै मात्र क्षेत्र छ । एउटा प्रतिनिधसभा निर्वाचन क्षेत्रमा दुर्इवटा प्रदेशसभा निर्वाचन क्षेत्र हुन्छ । भाेजपुरकाे प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेले राजेन्द्र रार्इलार्इ उठाउदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार