राप्रपाको देशभर प्रशिक्षण कार्यक्रम

काठमाडौँ, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी कात्तिक २७ गते ७५ वटै जिल्लामा जिल्ला अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ ।

पार्टीको आज सम्पन्न प्रशिक्षण भेलाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर सो प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टीले राष्ट्रवादी, हिन्दूवादी, राजावादी, उदारवादी र संवद्र्धनवादी चिन्तनलाई वैचारिक दृष्टिकोण बनाएकाले ती विषयमा तल्लो तहदेखि नै प्रशिक्षित बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

यसैबीच सोमबारदेखि शुरु गरिएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । यहाँ प्रशिक्षण लिएका अगुवा नेताले ७५ जिल्लामा पुनः प्रशिक्षण दिनेछन् ।

सो कार्यक्रममा पार्टीका प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख पाठकले ‘पार्टीको सैद्धान्तिक अवधारणा र आगामी निर्वाचन तयारी’ विषयमा तथा केन्द्रीय सदस्य डा भीमसेन गुरुङले ‘प्रशिक्षकको कर्तव्य र दायित्व’, डा विष्णु भण्डारीले ‘पार्टीको उम्मेदवार वैकल्पिक अवधारणा’ र रामानन्द न्यौपानेले ‘संगठन निर्माणको रणनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार