‘वाम एकता’ कि माओवादीको ‘म्याच फिक्सिङ’ ?

अरूण बराल  378 पटक हेरिएको

काठमाडौं । एमाले, माओवादी र नयाँशक्ति पार्टीवीचको चुनावी तालमेलको प्रयास अनि त्यसैको घोलमा लत्पत्याएर बजारमा सुकाइएको ‘वाम एकता’को टालोबारे धेरैले व्याख्या, विश्लेषण एवं अनुमान गरिसकेका छन् । यस आलेखमा चाहिँ त्यसभित्र निहीत केही गुह्य कोट्याउने प्रयास मात्रै गरिएको छ ।

कम्युनिष्ट शुभचिन्तकहरुका लागि ‘वाम एकता’ सुन्दैमा निकै स्वादिलो पदावली हो । माओवादी र एमालेवीच कस्सिएको लगनगाँठोमा कसैले झिनो प्रश्नमात्रै उठायो भने अहिले उसमाथि ‘महान एकताको बाधक’ को बिल्ला झुण्ड्याइन सक्छ । गठबन्धनमा सहभागी बाबुरामलाई चाहिँ जति नै गाली र अपमान गरे पनि एमाले र माओवादीका जण्ड कार्यकर्ताहरु खुशी नै हुन्छन् ।

वाम तालमेलको विषयमा सकारात्मक र नकारात्मक दुबैखाले टिप्पणी आइरहेका छन् । तर, कसैको भावनाले छोप्दैमा राजनीतिक वस्तुस्थिति लुक्न सक्दैन । ‘वाम एकता’को रागका सम्बन्धमा यही कुरा सत्य हो । वाम एकता सुन्दा जति मीठो छ, व्यवहारमा यसका चुनौती र असरहरु त्यति स्वादिला छैनन् ।

मनको लड्डु घिउसँग मुछेर

चिउरा केरा अनि मासुभात खाने दशैंको मुखमा एमाले नेता बामदेव गौतमले प्रचण्डलाई टेलिफोन गर्ने प्रयास गरे । तर, सम्पर्क भएन । त्यसपछि उनले जनार्दन शर्मालाई सम्पर्क गरे । र, उनैलाई लिएर प्रचण्डलाई भेट्न गए ।

माओवादी र एमालेका केही नेताहरुले ६०/४० मा चुनावी तालमेल गरौं भनिरहेकै थिए, बामदेवले प्रचण्डसँग यही प्रस्ताव राखे ।

केपी ओलीले मान्छन् त ? प्रचण्डको संशय थियो । ओलीकै निर्देशनमा बामदेवले यो प्रस्ताव लाजिम्पाट पुर्‍याएका थिए । त्यसपछि दशैंकै बेला ओली र प्रचण्डको भेट गराइयो ।

एमाले नेताहरुले सोचेका थिए कि स्थानीय चुनावमा माओवादी पत्तासाफ हुन्छ र ऊ कांग्रेस र एमालेभन्दा निकै तलै रहन्छ । तर, तेस्रो चरणको चुनावसम्म आइपुग्दा एमालेले के थाहा पायो भने माओवादीलाई साथ नलिने हो भने आगामी चुनावमा आफू ठूलो दल बनेता पनि सरकार हातमा नआउन सक्छ

निकै लामो छलफलका क्रममा प्रचण्ड एकाएक भावुक भए । उनले ओलीको बडी ल्याङ्वेज सकारात्मक देखेर हुनुपर्छ, फ्याट्टै प्रस्ताव गरे- चुनावी तालमेल मात्रै किन ? पार्टी एकतै गर्न पनि म तयार छु ।

ओली पनि के कम ? उनले पनि ‘गरौं भने गरौं’ भन्ने जवाफ दिए ।

कम्युनिष्ट पार्टीका नाममा बेग्लाबेग्लै ‘स्कुल अफ थट’ को वकालत र प्रतिनिधित्व गरिरहेका दुई पार्टीवीच आवेगात्मकरुपमा पार्टी एकताको प्रस्ताव आदान-प्रदान भयो । यो एकतामा आवेग थियो । र, त्यसभन्दा बढ्ता अरु केही थियो भने मनोगत तर्कना अर्थात् मनको लड्डु थियो ।

त्यसपछि ७ बुँदे प्रस्ताव बन्यो । अन्ततः त्यसैलाई परिमार्जन गरेर पछि ६ बुँदे बनाइयो । यसैवीचमा केपी ओलीले बाबुराम भट्टराईलाई बोलाए । प्रचण्डले अहिले हामी मात्रै मिलौं भन्दाभन्दै ओलीले नयाँ वैकल्पिक शक्तिको बाँसुरी बजाइरहेका बाबुरामलाई पनि त्यही ‘वाम एकता’को चास्नीमा डुबाए । यसरी वाम एकताको रंगीन घोल तयार पारियो ।

आफ्नो पार्टीको औपचारिक बैठकमा कुनै छलफलै नगरी कोटरीबाटै एकताको परेवा उडाएपछि प्रचण्डले माओवादी पार्टीको सचिवालय बैठक बोलाए । सचिवालयका सबै नेतालाई चुनावमा टिकट चाहिएको थियो, उनीहरु कसैले पनि माओवादी आन्दोलन, त्यसका मूल्य मान्यता, माओवाद अनि पहिचानको मुद्दा इत्यादिको भविश्यबारे प्रचण्डलाई सोधेनन् ।

सबैले प्रचण्डको प्रस्तावलाई ‘महान’ भनेर प्रशंसा गरे । उनीहरुलाई एउटै चिन्ता थियो-केवल आगामी चुनावमा टिकटको । प्रचण्डमाथि प्रश्न उठाएर जोखिम मोल्नुको साटो माओवादी नेताहरुले एमालेसँग मिलेर चुनाव जितेको दिवा सपना देख्न थाले ।

एमालेको स्थायी कमिटी बैठकले माओवादीसँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेकै थियो । तर, उसले ‘पार्टी एकता गर्ने’ निर्णय चाहिँ गरेको थिएन ।

आफूले बोक्दै आएको विचार, सिद्धान्त र माओवादी आन्दोलनको इतिहासलाई मुल्तवीमा राखेर एमालेसँग पार्टी एकताको सहमति गरिसकेपछि अहिले बल्ल माओवादी नेतृत्व एमालेसित एकता गर्दा हुने फाइदाबारे विश्लेषणमा केन्द्रित बनेको छ ।

पुरानो पार्टी भत्काएर नयाँ बनाउने गरेको, एमालेसँग मिलेपछि समाजवादी क्रान्तिमा जान सकिने सम्भावना रहेकोदेखि लिएर दुईतिहाई बहुमत ल्याएर स्थायी सरकार दिन सकिने अनि प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीसमेत स्थापना गर्न सकिने र देशलाई विकासको गतिमा अघि बढाउन सकिने विश्लेषणहरु भइरहेका छन् । एमालेलाई कब्जा गर्न सकिनेसम्मका मनोगत विश्लेषण माओवादी पंक्तिबाट आइरहेका छन् भने माओवादीलाई बहुदलीय जनवादको ‘सुरसा’ भित्र क्वाप्पै निल्न सकिने एमाले पंक्तिबाट विश्लेषणहरु आइरहेका छन् ।

दुबै पार्टीका, दुबै धारका नेताहरु मनको लड्डु घिउसँग मुछेर खान व्यस्त छन् । तर, यति हुँदाहुँदै पनि चुनावी तालमेलमा भ्यागुताको धार्नी पुगिरहेको छैन । बाबुराम वीचैमा उफ्रन खोजिरहेको अवस्था छ ।

यही पृष्ठभूमिका वीचबाट एकापसमा हिलो छ्यापाछाप गरिरहेका एमाले र माओवादीका नेताहरु आखिर किन रातारात पार्टी एकताका लागि तयार भए ? यसका पछाडिको अन्तर्य के हो ? यसबारे छोटो विश्लेषण गरौंः

एमालेको बाध्यता

एमाले नेताहरुले सोचेका थिए कि स्थानीय चुनावमा माओवादी पत्तासाफ हुन्छ र ऊ कांग्रेस र एमालेभन्दा निकै तलै रहन्छ । तर, तेस्रो चरणको चुनावसम्म आइपुग्दा एमालेले के थाहा पायो भने माओवादीलाई साथ नलिने हो भने आगामी चुनावमा आफू ठूलो दल बनेता पनि सरकार हातमा नआउन सक्छ । यो स्थितिमा माओवादी र कांग्रेस मिलेर एमालेलाई ५ वर्ष सत्ता बाहिर राखिदिने अवस्था आउन सक्छ ।

आशन्न भविश्यको यस्तो त्राशदीसँगै देउवा नेतृत्वको सरकारले एकलौटीरुपमा राजनीतिक नियुक्तिहरु गरिरहेको अवस्थामा टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था एमाले नेताहरुले आँकलन गरेकै थिए ।

प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने कुरा गरिरहँदा एमालेको वर्गधरातललाई त बुझेनन् नै, आफैंलाई र आफ्नो पार्टीलाई समेत बुझेनन् । आफैंले उठाएको आन्दोलनको मर्मलाई बुझेनन् । प्रचण्डले आफूलाई मात्रै अलिकति बुझेको भए ‘वाम तालमेल’ सम्म हुन सक्थ्यो, तर एमालेसँग पार्टी एकताकै प्रस्ताव चाहिँ उनको मुखबाट फुत्किने थिएन

यही राजनीतिक जोडघटाउका आधारमा एमाले नेताहरुले माओवादीसँग चुनावी तालमेल गर्न खोजे । बामदेव गौतम यो अभियानमा लागि परे । तर, बामदेवको पहलमा भएको ओलीसँगको भेटमा प्रचण्डले तालमेलबाट एक कदम अघि बढेर भने- तालमेलमात्रै किन ? पार्टी एकता गरौं ।

माओवादीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले यो कुरामा स्वीकारोक्ति जनाइसकेका छन् कि पार्टी एकताको प्रस्तावक केपी ओली वा अरु कोही नभएर उनी आफैं हुन् ।

प्रचण्डले पार्टीको प्रशिक्षणमा भनेका थिए, ‘एमालेले प्रस्ताव ल्यायो भनेर नठान्नुहोला, सबैभन्दा पहिले पार्टी एकता गरौं भनेर प्रस्ताव राख्ने मान्छे मै हुँ ।’

एमालेको बाध्यताको समाधान चुनावी तालमेलबाट मात्रै पनि हुने थियो, पार्टी एकतासम्म गइराख्नुपर्दैनथ्यो । तर, माओवादीलाई आफूमा विलय गर्न पाउनु एमालेका लागि ‘ढुंगो माग्दा देउता पाएजस्तो’ बन्न पुग्यो ।

चुनावपछि पार्टी एकता भयो र यो बास्केटमा बाबुराम-प्रचण्ड दुबैलाई हालियो भने एउटै जंगलमा धेरैवटा शेरहरु अस्तित्वमा रहँदैनन् भन्ने तथ्य एमालेका चतुर नेताहरुलाई राम्रैसित थाहा छ ।

अन्ततः ५ वर्षे सत्ताको सुनिश्चितता चाहेको एमालेका लागि माओवादी स्वयंले पार्टी एकताको प्रस्ताव राखेपछि उसले ‘नाई’ भन्न सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार