काठमाडौं । नेपालमा बीमा व्यवसाय सुरु भएको पाँच दशक पुग्दैछ । अहिलेसम्म आवद्ध जनसंख्याको हिस्सा जम्मा आठ प्रतिशत छ । यसलाई बढाएर १५ प्रतिशत पुर्याउने सरकारी लक्ष्य पूरा होला त ? शंका कायमै छ ।

हाल २६ वटा कम्पनी यस क्षेत्रमा सक्रिय छन् । थप १३ वटालाई हालै बीमा समितिले सञ्चालन अनुमति दिएको छ । कुल ३९ कम्पनी यस क्षेत्रमा सक्रिय रहँदा जनसंख्याको पहुँच बढ्ने सरकारी अनुमान हो । नयाँ अनुमति पाएकामध्ये १० वटा जीवन र तीन निर्जीवन बीमा कम्पनी हुन् ।
नेपालमा राष्ट्रिय बीमा संस्थान र केही भारतीय कम्पनीले ०२५ सालदेखि यस क्षेत्रमा काम थालेका थिए ।
कमजोर प्रभाव
सन् २००८ अगाडि जीवन यस क्षेत्रमा जम्मा पाँच कम्पनी थिए । त्यसपछि चार वटा थपिए । सोही विन्दुदेखि थपिन थालेका हुन्, नयाँ बीमा कम्पनी ।
सन् २००८ मा कुल बीमाशुल्क आर्जन १० अर्ब ९२ करोड हाराहारी थियो । चार वर्ष अर्थात् सन् २०१२ मा उक्त रकम दोब्बर भयो । हाल करिब ५५ अर्ब रुपैयाँको छ, यो आँकडा ।
‘सन् २००८ मा भित्रिएको एसियन लाइफ अहिले राम्रो र प्रतिस्पर्धी कम्पनीको रुपमा देखिएको छ । तर, गुराँस लाइफ, सूर्या लाइफजस्ता कम्पनीको व्यवसाय वृद्धि तुलनात्मक रुपमा निकै कम देखियो,’ बीमा विज्ञ रविन्द्र घिमिरे भन्छन् ।
आर्थिक सर्वेक्षणअनुसार कुल गार्हस्थ उत्पादनमा बीमा शुल्कको हिस्सा बढ्दो क्रममै छ । जस्तो- आर्थिक वर्ष ०६१/६२ मा जीडीपीमा बीमाको हिस्सा शुन्य दशमलव ९६ प्रतिशत रहेकामा ०७३/७४ मा दुई दशमलव ०५ प्रतिशत अनुमानित छ ।
आव ०७१/७२ मा जीडीपीमा बीमाको योगदान पाँच प्रतिशत पुर्याउने सरकारी लक्ष्य थियो । तर, त्यो चालु आर्थिक वर्षमा पनि पूरा हुने लक्षण छैन ।
हाल बीमा कम्पनीहरुले ५० अर्बबराबरको पूँजी स्रोत प्रयोग गरिरहेका छन् । र, एक खर्ब ४० अर्ब रुपैयाँ लगानीमा छ । सरकारलाई समेत वाषिर्क चार अर्ब ६३ करोड रुपैयाँ राजस्व बुझाउने गरेका छन् ।