‘कांग्रेस आत्तिएको छैन, अर्को एउटा गलत प्रयोग हुने चिन्ता मात्र हो’

दुई कम्युनिस्ट घटकले चुनावी तालमेल मात्र होइन, कांग्रेसमा एक प्रकारको छटपटी देखिन्छ । कतिपय नेताको अभिव्यक्ति सुन्दा धेरै आत्तिएको अनुमान गर्नेहरु पनि छन् ।

तर, कांग्रेसका बौद्धिक नेता महेश आचार्यले यो एकतालाई कसरी हेरिरहेका छन् ? मध्य बानेश्वरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै आचार्यले भने, ‘कांग्रेस आत्तिएको होइन र छैन । चिन्ता यति मात्र हो, कम्युनिस्ट पार्टीहरुको एकताले मुलुकलाई फेरि राजनीतिक ध्रुवीकरणतिर लैजाने त होइन ?’

प्रस्तुत छ, अनलाइनखबरका लागि उपेन्द्र पोखरेल र राजकुमार श्रेष्ठले गरेको कुराकानी-

एमाले र माओवादीको मिलनपछि अब कांग्रेस सिद्धियो भन्ने बुझाइ कतिपयमा देखिन्छ । अब कांग्रेस सिद्धिएकै हो ?

त्यो होइन । नेपालका सबै कम्युनिस्ट र राजाको शक्ति एक ठाउँमा हुँदा पनि कांग्रेस एक्लैले लोकतान्त्रिक आन्दोलनको निरन्तर अगुवाई गरेकै हो । र, नेपालमा लोकतन्त्र स्थापनाको निम्ति भूमिका निर्वाह गरेको पार्टी हो । त्यसैले कांग्रेस कुनै पनि अवस्थामा सकिने पार्टी होइन ।

उसो भए दुई वामपन्थी दल चुनावी तालमेलसँगै एकता गर्दा कांग्रेसमा रुवाबासी किन त ?

नेताहरुले व्यक्तिगत रुपमा भनेका टिप्पणीहरुलाई टिपेर हामीले धारणा बनाउनु हुँदैन । कांग्रेसको आधिकारिक धारणा के मात्र हो भने अहिले चुनावी तालमेल गर्ने र भोलि एउटै कम्युनिस्ट पार्टी बनाउने, नेपालमा साम्यवाद ल्याउने भनिएको छ ।

हाम्रो चिन्ता यति मात्र हो, साम्यवाद ल्याउने सपनामा समाज गहिरो विभाजनतिर जान्छ । जबकि, १०/११ वर्षको द्वन्द्व, राजाको प्रत्यक्ष शासन भोगेपछि भएको ०६२/६३ को आन्दोलनपछि हामीले सबै राजनीतिक पार्टीहरु भूमिका सुरक्षित गर्दै अगाडि बढ्ने मुल राजनीतिक बाटो तय गरेका थियौं । धेरै ठूलो उथलपुथलपछि जारी भएको संविधानले पनि फेरि एक पटक राष्ट्रिय सहमति बनाउने र लोकतन्त्रको आधारभूत मान्यता बलियो बनाएर राजनीतिक बहस, विभाजनमा अम्झिने होइन । देशलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्ने बाटो कोरेको थियो । यो बाटो खलबल हुन्छ कि भन्ने चिन्ता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार