Bal-Umang

Bal-Umang

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु

मुलुकी अपराध संहितामा भएका प्रावधान संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ । वार्तामा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवसहित चिकित्सक संघ र मेडिकल काउन्सिलका प्रतिनिधि सहभागी छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज अस्पतालका प्रशासनिक कार्य बन्द गरिएको छ । भदौ १९ गतेदेख आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नै बन्द गर्ने पनि संघले जनाएको छ । संघले हिजो राजधानीलगायत देशभर विरोध प्रदर्शन गरेको थियो भने देशभरबाट संकलत ६ हजार लाइसेन्स मेडिकल काउन्सिलमा बुझाएको थियो ।

यस्तै भदौ २० गते आकस्मिक बाहेकका अन्य अप्रेशनहरु बन्द गर्ने र भदौ २१ गते आकस्मिक वाहेक ल्याब र रेडियोलोजी सेवाहरु बन्द गर्ने पनि संघको संर्घषका कार्यक्रममा उल्लेख छ। चिकित्सक संघका महासचिव लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका माग सम्बोधन नभएसम्म बन्द गर्ने उल्लेख गरिएको छ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति असन्तुष्ट बनेका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । कानुनमा ‘बदनियत चिताएर उपचार गर्न नहुने’ र त्यसो गर्दा कसैको ज्यान गएमा ज्यान मारेसरह’ सजाय हुनेजस्ता प्रावधान राखिएको छ। संघले उक्त ऐनमा भएका विवादित दफा तथा उपदफामा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आइतबारदेखि आन्दोलनका कार्यक्रम शुरु गरेको जनाएको हो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार