Bal-Umang

Bal-Umang

काठमाडौंको धोबीखोला र बागमती नदीमा अाएकाे बाढीका कारण ठूलो क्षति: राह्रत उपलब्ध गराउन प्रकाशमानको माग

नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले वर्षासँगै काठमाडौंको धोबीखोला र बागमती नदीमा अाएकाे बाढीका कारण विस्थापित भएका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै सिंहले काठमाडौंमा गएराति धोबी खोला र बागमती नदीमा बाढी आउँदा करिडोर छेउका घर डुवानमा परेको भन्दै उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन्।

सिंहले भने,‘काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ बाढीले धेरै ठूलो क्षति पुर्‍याएको छ। पहिलो तल्लामा पानी र हिलो पसेर बस्नै नहुने भएको छ। त्यसैले उनीहरुलाई सरकारले हेर्नुपर्छ।’सिंहले बाढीकै कारण एउटै घरमा करोडभन्दा बढी क्षति भएको पनि बताए।

‘उद्योग तथा गोदाममा पानी पसेको छ। प्रेस तथा मेसिनहरु पानीका कारण खत्तम भएका छन्,’उनले भने,‘पसलहरुमा पनि धनको क्षति भएको छ।’ उनले घरमा पानी पसेपछि सयौंको संख्यामा मानिसहरु विस्थापित भएको पनि बताए। उनल सरकारले नदी नालालाई सफा र व्यवपस्थत गर्न धोविखोला, बागमती, विष्णुमति, वागमति सम्भयतादेखि थुप्रै निकायहरु भएपनि काम हुन नसकेको बताए। धोवीखोला करिडोर निर्माणको काम सुरु भएको वर्षौं भइसक्दा पनि नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘धोवीखोला करिडोर निर्माण समितिलाई भनेपछि सडक विभागलाई देखाउँछ। सडक विभागले काठमाडौं उपत्यकालाई देखाउँछ,’उनले भने,‘निर्माणको काम कसले गर्ने हो। सरकारको योतर्फ तत्काल ध्यान जाओस्।’ उनले बिजुली बजारको मुख्य सडकमा निर्माण भइरहेको पुलले पानीको वहावलाई छेकेकाले पनि बस्ती डुवानमा परेको बताए।

‘हेर्दा नेपालकै नमुनाको पुल जस्तो देखिन्छ। ढलान गर्दा धोवी खोलाको बहाव रोक्ने गरी गराएकाले बस्ती डुवानमा परेका हुन्,’उनले भने,‘सरकारले चाँडोभन्दा चाँडो बाटो निर्माणको काम सक्न तदारुकता देखाउनुपर्‍याे।’ गएराति धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका बासिन्दा प्रभावित भएका छन्।

यसअघि नेता सिंहले बुधबार बिहानै डुबान क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। स्थलगत निरीक्षणका क्रममा नेता सिंहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाकी उपप्रमुख लगायतलाई टेलिफोन गरी धोबीखोला र बागमती नदी किनार घरमा भएको डुबान समस्याबारे जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार