Bal-Umang

Bal-Umang

कलाकारको गुनासो : मिडिया हामीप्रति किन संवेदनहीन ?

काठमाडौं ।

घटना १ :

वैशाख ०७४ । महोत्तरीकी वर्षा राउतका बाबु मेयर पदका उम्मेदवार बने । तर, अभिनेत्री वर्षा राउतको नाम र फोटो जोडेर केही मिडियाले प्रचार गरे । ‘वर्षा राउतका पिता एमालेबाट बर्दिबास नगरका मेयर उम्मेदवार’ शीर्षकको समाचारमा उनको फोटो जोडियो । उनले यस विषयमा आपत्ति पनि जनाइन् । आफ्नो नाम भजाएर उम्मेदवारको प्रचार गरेको र त्यसले पाठकको नजरमा बाबुको नाम नै परिवर्तन गरिदिएकोमा उनलाई चिन्ता भयो । दिउँसो, राति उनलाई धेरैले फोन गरे । उनको परिवारमा पनि त्यत्तिकै फोन आयो ।

घटना २ :
असार ०७४ । अभिनेत्री पूजा शर्माले पनि मिडियाकै कारण निकै तनाव झेलिन् । कारण थियो, एक युट्युब च्यानलले राखेको शीर्षक ‘पूजा शर्माले भनिन्– भुवन केसी र अनमोल भाग्यले चलेका हुन् ।’ गलत अर्थ लाग्ने गरी शीर्षक बनाएर अपलोड गर्दा उनले तनाव मात्र झेलिनन्, अभिनेता भुवन केसीकी पूर्वश्रीमती सुस्मिता केसीसँग पूजाको सम्बन्ध पनि बिग्रियो । उनलाई त्यस विषयमा स्पष्ट पार्न सकस पर्‍यो । सामाजिक सञ्जालमा लामो जुहारीसमेत खेल्नुपर्‍यो । त्यसपछि मिडियालाई अन्तरवार्ता दिन निकै कम गरेको उनले बताइन् । पैसाका लागि अनलाइन र युट्युबहरूले मानवीय संवेदनाको पनि ख्याल नगर्ने गरेको उनले अनुभव सुनाइन् ।

घटना ३ :
माघ ०७४ । विषेशगरी अनलाइन र सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विषयमा नकारात्मक समाचार लिंकहरू निकै भाइरल भए । कामको सिलसिलामा नेपालबाहिर रहेकी साम्राज्ञीले मोबाइलमा देखिन्, ‘मलाई गाउँले मन पर्दैन’ शीर्षकको सामग्री । यो समाचारका कारण उनले निकै ठूलो तनाव खेपिन् । कुनै एउटा अनलाइनमा मात्र आएको पनि होइन, एउटाबाट कपी गरेर अन्य अनलाइनले यो विषयलाई भाइरल बनाए । लगत्तै, सामाजिक सञ्जालमा उनले आफूले भन्दै नभनेको कुरा समाचारमा आएको भन्दै स्पष्टीकरण दिइन् । मिडियाप्रति उनले आक्रोश पोखिन् । कार्यव्यस्तताले केही काम अस्वीकार गरेको खबरलाई दर्शकको नजरमा नकारात्मक प्रभाव पार्नेगरी तोडमोड गरेर समाचारको रूप दिइएको उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पारिन् ।

घटना ४ :
पल शाह अहिले युवापुस्ताले रुचाएका अभिनेता हुन् । नाइँ नभन्नू ल–३ पछि उनले लगातार केही फिल्ममा अभिनेत्री आँचल शर्माको जोडीका रूपमा अभिनय गरे । दर्शकले पनि यो जोडीलाई रुचाए । तर, केही समयअघि यही समाचारका कारण उनले तनाव झेल्नुपर्‍यो । दर्शकले पलसँगै आँचलको नाम लिनु स्वाभाविक माने पनि कहिलेकाहीँ आउने समाचारका विषयले भने तनाव हुने गरेको उनले बताए । केही महिनाअघि ‘पल शाहले हरेक फिल्ममा आँचललाई नै सिफारिस गर्छन्’ भन्ने आशयका समाचार मिडियामा आए । हुँदै नभएको र आफूले नभनेको विषयमा बनेको समाचारप्रति उनले आक्रोश पनि पोखे । मिडियाले सत्यतथ्य बुझेर मात्र लेख्नुपर्ने उनी बताउँछन् । अभिनेता–अभिनेत्री आफूले सिफारिस गर्ने नभई निर्माताले नै छान्ने उनले बताए । यस्ता समाचारका कारण दर्शकले नकारात्मक दृष्टिले हेर्ने र प्रत्यक्ष रूपमा असर पर्ने उनी बताउँछन् ।
०००

यी त प्रतिनिधि उदाहरण हुन् । शीर्षककै कारण तनाव झेल्ने र समस्यामा पर्ने सेलेब्रिटी कम छैनन् । कलाकारहरूको व्यक्तिगत जीवनमा नकारात्मक असर पर्ने खालका शीर्षक, फोटो, भिडियो हाल्न कत्ति पनि पछि पर्दैनन्, अनलाइन मिडिया र युट्युब च्यानल सञ्चालकहरू । अझ भनौँ, पत्रकारहरू । यस्ता शीर्षकले भ्युअर्स र सस्क्राइब्स बढाइरहे पनि त्यसले सम्बन्धित व्यक्तिको सम्मान र प्रतिष्ठा घटाइरहेको कलाकारहरूको गुनासो छ । अरूको संवेदनामाथि खेलेर पेट भर्नेहरूले यो क्षेत्रको विकासका बारेमा नसोचेको उनीहरूको दुखेसो छ । युट्युब र अनलाइन पत्रकारितामा विकृति फस्टाइरहेको पीडितहरू बताउँछन् ।

‘समाचार बिकाउन राखिने द्विअर्थी वाक्य, नबोलेका भनाइ, तोडमोड गरिएका शीर्षक, अश्लील शब्दले मिडिया कहिले सम्म टिक्छन् रु यहाँ अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ,’ अधिकांश पीडितको साझा भनाइ छ । समाचारकै कारण सञ्चारकर्मी र फिल्मकर्मीबीच विवादसमेत भएका घटना प्रशस्तै छन् । फिल्मकर्मीहरूले पत्रकार कुटेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् । यस्ता घटना नेपालमा मात्र होइन, अन्य देशमा पनि भइरहेका छन् । धेरै देशमा पापाराजीहरूको दबदबा कायम छ । जसले विशेषतः सेलेब्रिटीहरूको विषयमा तथ्यहीन समाचार प्रकाशन गरेर व्यक्तिगत जीवनमा पनि असर पुर्‍याइरहेका हुन्छन् । समाचारकै कारण ज्यान गुमाएको घटना पनि हामीले देखेरसुनेका छौँ । नेपालमै नग्न तस्बिर प्रकाशन गरिएका कारण अभिनेत्री श्रीषा कार्कीले आत्महत्याको बाटो रोजेको घटना हामीसामु छ ।

बेलायतकी राजकुमारी डायनाको पनि व्यक्तिगत जीवनलाई अरूसँग जोडेर तथ्यहीन समाचार प्रकाशन भएको थियो । सम्बन्धविच्छेदपछि उनको अरूसँग नाम जोडेर तथ्यहीन र नकारात्मक समाचार छापिए । पेरिस घुम्न गएका वेला १९९७ अगस्ट ३१ मा पापाराजीबाट भाग्ने क्रममा उनी कार दुर्घटनामा परिन् । अन्ततः उपचारका क्रममा उनको जीवन अन्त्य भयो ।

अचेलका अनलाइन र युट्युब पत्रकारितालाई सामाजिक सञ्जालले भरणपोषण गरेको छ । फलतः नकारात्मक समाचार फैलिन खासै समय कुर्नुपर्दैन । अनलाइन पत्रकारिताको मर्म बुझेर, पढेर, केही गर्ने सोचका साथ कमै मात्र आउने र बाँकी सबै लहैलहैमा आइरहेका कलाकारहरूको बुझाइ छ । युट्युब च्यानलहरूमा विभिन्न अनलाइन टिभीको नाम दिएर अश्लीलता पस्किँदै विकृति फैलाइएको भन्दै संगीत कला पत्रकार संघले ०७४ पुसमा ध्यानाकर्षणसमेत गराएको थियो । संघले पत्रिकारिताको न्यूनतम मूल्य र मान्यताविपरीत समाजमा आँच आउने खालका गतिविधिमा संलग्न व्यक्ति, संस्था र कलाकारलाई बहिष्कार गर्ने निर्णयसमेत गरेको थियो ।

मिडिया विश्वासिलो बनाउने र टिकाउनेभन्दा शीर्षक बिकाउने ट्रेन्डले समस्या निम्त्याएको समस्या भोग्नेहरू गुनासो गर्छन् । यसले फिल्म क्षेत्रमा लाग्ने व्यक्ति, फिल्म क्षेत्र र समाजलाई नकारात्मक दिशातिर लगिरहेको उनीहरूको भनाइ छ । आउने नयाँ पुस्ताका लागि पनि यो क्षेत्र नराम्रो होइन भन्ने किसिमको सन्देश दिन जरुरी रहेको उनीहरूको सुझाब छ ।

नकारात्मक असर परिरहेको छ स् दयाहाङ राई, निर्देशक

म सबै मिडिया र च्यानललाई अन्तर्वार्ता दिन्नँ । मिडिया र विषयवस्तु हेर्छु । मलाई दैनिकरसमसामयिकभन्दा कुनै गहन विषयवस्तुमा कुरा गर्न मन पर्छ । मैले पनि यस्तो समस्या भोगेको छु । मिडियाले पछिल्लो समय सेलेब्रिटीलाई वस्तुको रूपमा प्रयोग गरिरहेका छन् ।

मिडियाले आफूलाई राष्ट्रको चौथो अंगका रूपमा दाबी गर्छन् । तर, त्योसँगै आफूले दिएको कन्टेन्टले कस्तो समाज बनिरहेको छ भन्ने नबुझेझैँ लाग्छ । कतिपय युट्युब र अनलाइनले नकारात्मक कन्टेन्ट दिइरहेका छन् । फलस्वरूप दर्शकले सेलेब्रिटी वा फिल्म क्षेत्रलाई नै नकारात्मक रूपमा लिइरहेका छन् । सबै ठाउँमा पर्याप्त इन्टरनेट हुँदैन । धेरै दर्शकरपाठकले शीर्षक पढेर छाड्छन । यसले कस्तो असर पुग्छ रु मिडियाले आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ । साना–ठूला मिडियाले सिनेमाका समाचार सबैको आकर्षणका लागि मनोरञ्जन र रमझममा हाल्ने गर्छन् । तर, सिनेमाले समाजको कथा पनि बोकेका हुन्छन् । सोच बदल्न भए पनि मिडियाले यस्ता विषय लेख्नुपर्छ ।

सधैँ रमझम र आकर्षणका केन्द्रको रूपमा मात्र राखिनुहुँदैन । आफ्नो क्रियसनले काम गर्ने कम छन् । आफ्नो स्वार्थका लागि अरूको चरित्र हत्या गर्ने, नकारात्मक भ्रम फैलाउने, द्विअर्थी शीर्षक वा समाचार सम्प्रेषणले नकारात्मक असर पुगिरहेको छ । यसकारण समाजले हामीप्रति हेर्ने दृष्टिकोण राम्रो बन्दैन । यस्ता कन्टेन्ट र शीर्षकले समाजमा असर पुगिरहेको हुन्छ । बिकाउ चिजको पछि मिडिया लाग्दा समाजमा निकै प्रभाव परिरहेको छ ।

नियमन गर्न गाह्रो : समीर बलामी

सचिव, फिल्म पत्रकार संघ नेपाल

प्रेस काउन्सिल र सूचना विभागमा दर्ता नभई सञ्चालनमा आएका अनलाइन, त्यसका युट्युब च्यानललाई नियमन गर्न निकै गाह्रो छ ।

विशेषगरी, वैधानिक प्रक्रिया पूरा नगरी अनलाइन र युट्युब चलाउनेले यस्तो शीर्षक वा समाचार हाल्छन् । जसले गर्दा लामो समयदेखि राम्रै पत्रकारिता गर्नेहरूमा फस्ट्रेसन हुँदै जान्छ । राम्रा अनलाइन र युट्युब चलाउनेले पनि उनीहरूको सिको गर्न बाध्य हुन्छन् । यस्ता समस्या लिएर पत्रकार संघमा कलाकारहरू आउने गरेका छन् । यस अवस्थामा दुवै पक्षलाई राखेर संघले समन्वय गर्छ ।

रंग पत्रकारबीच आफैँ सच्चिएर जाने, सुधार गर्दै लैजाने विषयमा पनि छलफल हुन्छ । छलफल हुने भए पनि कहिलेकाहीँ त्यस्तो गर्ने गरेको पाइन्छ । संघको विधानविपरीत कसैले यस्तो काम गरेमा हामी कारबाहीको प्रक्रिया अघि बढाउँँछौँ । तर, बढी मात्रामा नयाँ खुलेका च्यानल र अनलाइनलाई नियमन गर्न निकै गाह्रो छ ।

कलाकारमा निराशा छाउँछ : आकांक्षा कार्की

रंगकर्मीरमनोविद्
नकारात्मक समाचार लेख्ने ट्रेन्ड निकै बढेको छ । कुनै विषयवस्तु नपाउनेले यस्ता समाचार लेख्छन् भन्ने मलाई लाग्छ । यस्ता समाचार र शीर्षक लेख्दा केही हुँदैन भनेर लेख्ने गरिएको छ । विशेष गरी पुरुष पत्रकारहरूले नै यसरी लेख्नुहुन्छ ।

मिहिनेत गरिरहेका कलाकारमा यस्ता समाचार, शीर्षकले निराशा छाउँछ । निर्धक्कसाथ काम गर्नेहरूलाई कमजोर महसुस गराउँछ । कतिपय भने वास्तै नगरी मिहिनेत गर्दै जाने क्षमताका पनि हुन्छन् । तर, सबैले त्यस्तो गर्न सक्दैनन् । विशेषगरी, भर्खर–भर्खर यस क्षेत्रमा प्रवेश गर्नेहरूमा बढी असर पुग्छ । मिहिनेत गर्दै गरेका महिला कलाकारलाई प्रोत्साहन गर्नेभन्दा पनि व्यक्तिगत विषयवस्तु ल्याएर नकारात्मक सन्देश फैलाउँदा पृतिसत्तात्मक सोचले महिलालाई कसरी हेर्छ भन्ने कुरा पनि देखाउँछ ।

समाजले भर्खर मिडिया क्षेत्र पनि व्यावसायिक हो भन्ने धारणा बनाइरहेको छ । तर, यस्ता भ्रामक समाचार, नकारात्मक शीर्षक आउँदा यो क्षेत्रमा लाग्न चाहनेले घरमा कन्भिन्स गर्न समस्या हुन सक्छ । विदेशमा यो फिल्ड कमाउने पेसाका रूपमा लिइन्छ । नेपालमा भने नकारात्मक सन्देश फैलिरहँदा घररपरिवारले हेर्ने दृष्टिकोण नै राम्रो हुँदैन । जसले गर्दा क्षमता भएकाहरू पनि यो क्षेत्रमा आउन निकै गाह्रो हुन्छ । यस्तै ट्रेन्ड चलिरहने हो भने भोलिका दिनमा राम्रो दृष्टिकोणबाट हेरिने यो क्षेत्र नकारात्मक हुँदै जान्छ । समाज र दर्शकमा पनि त्यहीअनुसारको धारणा बन्छ । स्कोप बिग्रिन सक्छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार