Bal-Umang

Bal-Umang

काममा लगाई दिने आश्वासन दिई होटलमा राखी यौनशोषण गर्ने दुई पक्राउ

काठमाडौं ।  काममा लगाई दिने आश्वासन दिई होटलमा राखी पटक पटक यौनशोषण गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका–२६ का २४ वर्षीय सुरज दर्जी र सोही महानगर वडा नम्बर–६ धादिङगाउँ बस्ने २४ वर्षीय समर परियार रहेका छन्।

पोखराबाट एक १९ वर्षीया युवतीलाई ललाइ–फकाई ल्याएर नक्कली नागरिकता बनाई चीनको केरुङमा अबैध क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चिनियाँ प्रहरीको समन्वयमा प्रहरीले उनीलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए। उनले भने, ‘असार ४ गते एक युवतीलाई केरुङ पुर्याई डान्सबारमा यौनधन्दाको काममा लगाई अन्य दुव्र्यवहारसमेत गर्ने गरेको सूचनाको आधारमा युवतीको उद्धार गरेका हौँ।’

पक्राउ परेका दर्जी र परियारमाथि मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

अनुसन्धानका क्रममा जेठ ११ गते पोखराबाट युवतीलाई फकाएर काठमाडौं हुँदै रसुवाको स्याँफ्रुमा पुर्‍याई नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक–पटक यौनशोषण गरेको र त्यसपछि केरुङ पुर्‍याइएको खुलेको डीएसपी तामाङले जानकारी दिए।

घटनामा संलग्न ५ जनामध्ये २ जनालाई पक्राउ गरिएको र ३ जनाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै उद्धार गरिएकी युवतीलाई माइती नेपाल काठमाडौं पठाउने तयारी भइरहेको पनि प्रहरी नायब उपरिक्षक तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार