Bal-Umang

Bal-Umang

३८ सय किलो सुन तस्करी प्रकरणका थुनुवा जिल्ला अदालतलार्इ चुनाैति दिदैँ पुगे उच्च अदालत

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल हुँदै विगत चार वर्षदेखि ३८ सय किलो सुन तस्करी र सनम शाक्य कर्तव्य ज्यान मुद्दाको प्रकरणमा थुनामा रहेको आरोपितहरु मध्ये कतिपय आरोपितहरु जिल्ला अदालत मोरङको आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतमा निवेदन दिन थालेका छन्।

थुनामा रहेकामध्ये ८ जनाले थुनामा राख्ने जिल्ला अदालतको आदेश न्यायसंगत नरहेको जिकिर गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका छन्।

निवदेन दिनेमा पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र भुजुङ गुरुङ छन्। अन्य निवेदकहरुमा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा ‘तमाङ’ र सम्बिरप्रसाद तोलाङे तथा हेमन्त गौतम रहेको उच्च अदालतका रजिष्ट्रार नारायण रेग्मीले बताए।

डिसपी राउतले जेठ २२, एसएसपी लोहनीले जेठ २३, डिआइजी निरौलाले जेठ २९, एसपी खनालले जेठ ३१, भुजुङ गुरुङ र हेमन्त गौतमले असार ३ गते निवेदन दर्ता गराएका थिए।त्यस्तै अन्य २ अभियुक्त गत सोमबार उच्च अदातलमा निवेदन दर्ता गराएका हुन्।

उनीहरुको निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश कुलरत्न भुर्तेलको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र विपक्षले पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउने व्यवस्था कानुनमा छ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार रेग्मीले हालसम्म दर्ता भएका निवेदनहरुमा कैफियत प्रतिवेदन माग्ने आदेश भएको बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार