आजको पत्रपत्रिका बाट : २ सय ८६ गाउँ पहिरोको उच्च जोखिममा

२०७२ साल १२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण पहाडी जिल्लाका अधिकांश भाग कमजोर भएकाले पहिरोको उच्च जोखिम देखिएको हो।

भूकम्पपछि हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरूले भूकम्प प्रभावित जिल्लाको भौगर्भिक अवस्थाको अध्ययन गर्दै आइरहेका छन्। ती निकायको भौगर्भिक अध्ययनले नै पहिरोको उच्च जोखिम आंैल्याएका हुन्।

जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भए पनि सरकारले त्यस्ता बस्तीलाई सुरक्षित स्थानमा सार्न सकेको छैन। जोखिमपूर्ण बस्ती अन्यत्र सार्न नसक्दा हजारौं बासिन्दाहरू भय र त्रासमा बाँच्न बाध्य छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प प्रभावित १८ जिल्लाका २४ सय भन्दा बढी घरपरिवार अहिले पनि पहिरोको उच्च जोखिममा रहेको बताए। ‘जुनसुकै समयमा पनि पहिरो जान सक्ने भएकाले पहिरोबाट बचाउन उनीहरू सबैलाई हालको जोखिमयुक्त बस्तीबाट अन्यत्र स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ’, कार्यकारी अधिकृत भुसालले अन्नपूर्णसँग भने।

उनले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न ढिलाइ भइरहेको स्वीकार्दै आगामी दुई वर्षभित्र सबैलाई सुरक्षित स्थानतर्फ लैजाने लक्ष्य राखिएको जानकारी दिए। एकीकृत बस्तीमार्फत जोखिममा रहेका सबैलाई सुरक्षित स्थानमा ल्याइने भुसालले दाबी गरे।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले भूकम्प आएलगत्तै जोखिममा रहेका प्रमुख बस्तीको पहिचान गरेर आफूहरूले गृह मन्त्रालय र पुनर्निर्माण प्राधिकरणलाई बस्ती स्थानान्तरण गर्न त्यतिखेर नै सिफारिस गरिए पनि बस्ती स्थानान्तरण हुन नसकेको बताए। ‘जोखिममा रहेका बस्ती समयमा नै स्थानान्तरण हुनुपर्छ, अन्यथा ठूलाठूला मानवीय र भौतिक क्षतिको खतरा रहन्छ’, खनालले भने।

मनसुनसँगै साढे दुई हजार परिवारमा त्रास सुरु भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरेका अनुसार प्राधिकरणले खानी तथा भूगर्भ विभागसँगको समन्वयमा भूकम्प प्रभावित १८ जिल्लाका ९ सय ९३ वटा गाउँको भौगर्भिक अवस्थाको अध्ययन गरेको थियो।

जोखिममा रहेका परिवारमध्ये झण्डै १४ सय घरपरिवारलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया थालिएको प्राधिकरणका प्रमुख नापी अधिकृत घिमिरेले जानकारी दिए। बाँकी २ हजार ४ सय १८ घरपरिवार भने जोखिमयुक्त अवस्थामा रहे पनि स्थानान्तरण गर्न नसकिएको घिमिरेले जानकारी दिए। अध्ययन गरिएका ९ सय ९३ गाउँमध्ये ३ सय ८८ वटा गाउँ सुरक्षित रहेको पाइएको छ भने ३ सय १९ गाउँलाई विभिन्न वायोइञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर सुरक्षित बनाउनुपर्ने देखिएको छ। त्यसो नगरिए ती गाउँहरू पनि सुरक्षित हुन नसक्ने र थप क्षति बेहोर्नुपर्ने अवस्था आउने भूगर्भविद्हरूले बताएका छन्।

प्राधिकरणले जोखिममा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा घर बनाउन आवश्यक पर्ने जग्गा किन्नका लागि प्रतिपरिवार २ लाख रूपैयाँ दिंदै आएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवामा ३ सय ५ घरपरिवार अन्यत्र स्थानान्तरण गरिएको जनाएको छ। यसैगरी रामेछापमा ५६, सिन्धुपाल्चोकमा ५६, धादिङमा ९५, नुवाकोटमा १ सय ३७, चितवनमा ३१, दोलखामा ७५ घरपरिवार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पुनर्निर्माण प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार प्राधिकरण र एनआरएनएको संयुक्त प्रयासमा हाल गोर्खाको लाप्राकमा जोखियमयुक्त अवस्थामा रहेका ५ सय ७२ घरपरिवार सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने प्रयास भइरहेको छ।

के भन्छन् भूगर्भविद्हरू ?

धादिङको गापा गाउँमा अध्ययनमा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् किशोर आचार्यले जोखिममा रहेका गाउँमा मनसुनको समयमा जतिबेला पनि पहिरो गई ठूलो धनजनको क्षति हुन सक्ने खतरा रहेको बताएका छन्। भूगर्भविद् आचार्यले स्थानान्तरण गर्नुपर्ने र जोखिममा रहेका गाउँहरू त्रास र भयमा रहेको बताए। आचार्यका अनुसार ती गाउँमा विगतमा गएका पहिरोका डोबहरू बढ्दै गइरहेका छन् भने गाउँ नजिकै परेका जमिनका चिराहरू पनि लामा र फराकिलो हुँदै जान थालेका छन्। ती गाउँको जमिन क्रिपिङ ९सर्ने क्रम०मा रहेकाले घरहरू बांगिने तथा भत्कने क्रम समेत सुरु हुन सक्ने भूगर्भविद् आचार्यले बताए।

दुई दिनअघि सिन्धुपाल्चोकको हेलम्बू पुगेर फर्किएका प्राधिकरणका अर्का भूगर्भविद् लेखप्रसाद भट्टले पनि हेलम्बूका केही ठाउँलगायत विगतमा अध्ययन गरिएका जोखिमयुक्त बस्तीहरू असुरक्षित हँुदै गएको बताए। ‘हामीले सार्न सिफारिस गरेका गाउँहरू नसारिए जुनसुकै बेला पनि भयानक पहिरो गई ठूलो धनजनको क्षति हुन सक्छ’, भूगर्भविद् भट्टले अन्नपूर्णसँग भने, ‘ती गाउँको नजिकै रहेको जमिनमा धाजाहरू फाट्ने क्रम बढिरहेको छ, जमिन सर्ने क्रम पनि उस्तै छ, जुन निकै खतराको संकेत हो।’ यसअघि गएका पहिरोबाट समेत ढुंगामाटो खस्न थाल्दा गाउँलेहरूमा थप भय र त्रास सिर्जना हुन थालेको भूगर्भविद् भट्टले बताए।

कूल अध्ययन भएका गाउँ संख्या ९ सय ९३

–२ सय ८६ गाउँका ३ हजार ८ सय १८ घरपरिवार जोखिममा

–२ हजार ४ सय १८ घरपरिवार स्थानान्तरण गर्न बाँकी

–१४ सय घरपरिवार स्थानान्तरणको क्रममा

–३ सय १९ गाउँमा सुरक्षित विधि प्रयोग नगरिए बस्न नसकिने

–३ सय ८८ गाउँ सुरक्षित

अन्नपूर्ण पाेष्टबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार