Bal-Umang

Bal-Umang

कांग्रेस दियाे सरकारलार्इ यस्ताे काउण्टर, सरकारविरुद्ध आन्दोलन गर्ने दिन आउँदैछ

सभामुख र उपसभामुख मध्ये एक पद छाड्न नेकपालाई चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन ।
नेपाल कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरुबाटै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरीरहेका बेला कांग्रेसले त्यसलाई लोकतान्त्रिक गणतन्त्रमाथिको खतराका रुपमा लिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ अधिवेशनको मंगलबार भएको उद्घाटन सत्रमा नेताहरुले कांग्रेसलाई एक्ल्याएर कम्यूनिष्ट शासन लाद्न खोजिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने तर्फ प्रधानमन्त्री केपी ओली लागेको भन्दै त्यसबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

‘यो सरकारविरुद्ध चाँडै नै आन्दोलनको घोषणा गर्नुपर्ने दिन आउँदैछ’ देउवाले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लम्पसारवादमा परिणत भएको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालनका लागि सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई भन्दा बढीको समर्थन हुनेगरी सरकारमा सबैलाई ल्याउन खोज्नु रहस्यमय भएको बताए । ‘यो घटना रहस्यमय र शंकास्पद छ, कांग्रेस समयमै सतर्क हुनुपर्छ’ उनले भने, ‘संविधान संशोधनको चर्चा, प्रादेशिक संसदमा प्रधानमन्त्रीको सम्बोधन, लोकतान्त्रिक संरचनामाथि नियन्त्रित अभ्यास राज्यसत्ता केन्द्रीकृत गर्ने योजनाबाट आएको छ । यसका विरुद्ध हामी लड्नुपर्ने हुन्छ ।’

उनले प्रतिपक्षीय भूमिका फितलो भएको भन्दै संसद र सडकमा समेत आर्थिक र भौतिक रुपमा सम्पन्न कम्युनिष्टहरुविरुद्ध संघर्ष गर्नुपर्ने दिन आएको बताए । यसका लागि पार्टीभित्र एकता आवश्यक रहेको उनले बताए ।उपसभापति विमलेन्द्र निधिले कम्यूनिष्ट नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने तर्फ संविधान विपरितका काम गर्न थालेको बताए । महामन्त्री सशांक कोइरालाले कर्‍याङकरुङ चराको उडान जस्तै कांग्रेसमा एकताको उडान आवश्यक रहेको बताए । ‘कांग्रेसलाई सम्पूर्ण रुपमा एकजुट नबनाएसम्म हामी कम्यूनिष्टसंग जुध्न सक्दैनौ’ उनले भने,‘मेरो अभियान कांग्रेसलाई एक बनाउने छ । यसमा सबैले साथ दिनुहोला ।’

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रकृयामा आएको माओवादीको विप्लव समूहले जंगलमा बसेर हिंशाको घटना सुरु गर्न थालेको भन्दै त्यसविरुद्ध सरकार गम्भिर नभएको भन्दै आपत्ति जनाए । ‘सत्ता र जंगलमा समेत कम्यूनिष्ट छन, कांग्रेस बीचमा एक्लो बनेको छ’ उनले भने,‘कांग्रेसलाई एक्लो बनाएर शान्ति प्रकृयालाई असफल बनाउने प्रयास भएको छ ।’

कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले भविष्यका चूनौतिहरुलाई सामना गर्न सक्ने क्षमताको पार्टी बनाउनु पर्ने भन्दै एकतामा जोड दिए ।

सभामुख र उपसमामुख मध्य एक छोड्न मागः
कांग्रेस नेताहरुले नेपाल कम्यूनिष्ट पार्टीलाई सभामुख र उपसभामुख मध्य एक छाडेर संविधानको पालना गर्न आग्रह गरेका छन । नछाडेमा संसद अबरुद्ध गर्नेसम्मको चेतावनी नेताहरुले दिए । अहिले सभामुख र उपसभामुख दुवै पदमा नेपाल कम्यूनिष्ट पार्टीका नेता छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार