पोखरा पुगेर रमेशले भने-‘अहिलेका स्टार अनमोल केसी’

नायिका दीपिका प्रसाई, कलाकार प्रशान्त ताम्राकार र कार्यकारी निर्माता निर्मल शर्माको साथमा नायक तथा निर्माता रमेश उप्रेती अहिले आफू निर्मित चलचित्र ‘ऐश्वर्य’को प्रचारका क्रममा मोफसल दौडमा छन् । पोखराबाट सुरु भएको चलचित्रको टिमको मोफसल दौड विभिन्न शहरमा पुगेर टुंगिनेछ ।

पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका नायक तथा निर्माता रमेश उप्रेतीले लामो समयको अनुभवलाई संगालेर एउटा उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको बताए । साथै, उनले चलचित्रको मेकिङ, निर्माण शैली र कथावस्तुमा कुनै संझौता नगरिएको बताए ।

रमेशले एक प्रसंगमा भने-‘एक-दुइवटा चलचित्र खेल्दैमा कोही स्टार हुँदैन । मेरो विचारमा अहिलेका स्टार अनमोल केसी मात्र हुन् । उनले, जुन तरिकाले चलचित्रमा काम गरिरहेका छन्, त्यसले उनमा स्टारको गुण छ ।’

यस्तै, नायिका दीपिका प्रसाइले चलचित्रले आफ्नो भविष्य कुन बाटोमा लैजान्छ भन्ने रिलिजपछि थाहा हुने बताइन् । तर, चलचित्रमा आफू दर्शकले नोटिस गर्न सक्ने भूमिका रहेको उनको भनाई थियो । यस्तै, चलचित्रका अर्का कलाकार प्रशान्त ताम्राकारले आफू चलचित्रमा खलपात्र भन्दा पनि एउटा मिसनमा हिडेको पात्रको भूमिकामा देखिएको बताए । उनले, २२ बर्ष लामो ग्ल्यामर क्षेत्रको अनुभवमा पहिलो पटक आफूले चित्तवुझ्दो भूमिकामा काम गर्न पाएको बताएका थिए ।

कार्यकारी निर्माता निर्मल शर्माले हरेक कोणबाट चलचित्र उत्कृष्ट बनेको बताए । उनले मोफसलका दर्शक र पत्रकारसँग साक्षात्कार गर्न आफूहरु दौडमा निस्किएको बताए । दिवाकर भट्टराई निर्देशित चलचित्र कात्तिक ९ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार