Bal-Umang

Bal-Umang

ओली–प्रचण्डको केन्द्रीय सदस्यलाई दिए यस्ताे निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता बलियो एवं भ्रष्टाचार न्यूनीकरण अभियानमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार सम्पन्न पार्टीको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकतालाई मजबुत बनाउन पार्टीले दिइएको जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर एवं नागरिकता प्रतिलिपिका लागि प्रधानमन्त्री निवास बालुवाटरमा केन्द्रीय सदस्यको अनौपचारिक बैठक बोलाइएको थियो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टीले दिएको जिम्मेवारीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले पार्टीलाई विधि एवं प्रक्रियासम्मत रूपमा सञ्चालन गर्न तथा संघीय, प्रादेशिक र स्थानीय सरकार चलाउँदा भ्रष्टाचार नगर्न र हुन पनि नदिन निर्देशनसहित भ्रष्टाचार गर्नेलाई कारबाही गर्न निर्देशन दिएको बताए ।

‘पार्टीले दिएको जिम्मेवारीअनुसार तोकिएको क्षेत्रमा निष्पक्ष रूपमा काम गर्न निर्देशन अध्यक्षद्वयले दिनुभयो,’ श्रेष्ठले भने, ‘हामी पनि भ्रष्टाचार गर्दैनौं, अरूलाई पनि गर्न दिँदैनौं र भ्रष्टाचार गर्नेलाई कारबाही गर्छौं ।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुई ठूला कम्युनिस्ट पार्टीबीचमा भएको एकता विश्व राजनीतिक इतिहासमै सबभन्दा ठूलो सफलता रहेको बताए । एकताले चुनौती पनि थपिएकाले मुलुक र जनताको विकासमा सरकारले ध्यान दिने बताउँदै उनले समाजवाद र समृद्धिका लागि आफूले भ्रष्टाचार नगर्ने र अरूलाई समेत गर्न नदिने उल्लेख गरे ।

यसैगरी, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले कम्युनिस्ट पार्टीका नेताहरूको बानीबेहोरा बिग्रेको र पार्टीमा नातावाद, कृपावाद बढेको बताउँदै यसको अन्त्य गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टी टुटफुटबाट नभई जुटेर अगाडि बढ्ने र मुलुक तथा जनताको चाहना पूरा गर्ने उनले बताए ।

यसैबीच, तत्कालीन माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्यहरूले पार्टी एकताको स्वागत गर्दै माओवादी केन्द्रका तर्फबाट केन्द्रीय समिति सदस्य छनोट गर्दाको विधि र प्रक्रियाप्रति गम्भीर असहमति रहेको निर्णय गरेको छ । पेरिसडाँडा पार्टी कार्यालयमा भएको माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्यहरूको भेलाले असन्तुष्टिसहितको निर्णय पार्टी अध्यक्ष र वरिष्ठ नेताहरूलाई जानकारी गराउने निर्णय गरेका छन् ।

तत्कालीन माओवादी केन्द्रका पूर्वपोलिटब्युरो सदस्य तपेश्वर चौधरीले केन्द्रीय सदस्यको छनोट गर्दा मनोमानी तरिकाले गरिएकोमा आपत्ति जनाए । कुनै जिल्लामा दर्जनौं नेता पर्नु, आसेपासे, काखी च्याप्ने काम भएकाले त्यसमा आफूहरूको असहमति रहेको पनि उनले बताए ।

असन्तुष्ट नेताको भेलाले पार्टी एकता गर्दा महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, मजदुर, शहीद तथा बेपत्ता परिवार एवं घाइते तथा अपांग योद्धाहरूको समुचित प्रतिनिधित्व नगराइएको, जिल्लागत सन्तुलन नमिलाएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने नेताहरूलाई छुट्ट्याइएकोप्रति गम्भीर असहमति जनाउँदै सच्याउन आग्रह गरेका छन् ।

त्यस्तै, जनवर्गीय संगठन र मोर्चाहरू, पार्टीको केन्द्रीय निकाय तथा विभागहरू, प्रदेश र स्थानीय पार्टी कमिटीहरू निर्माण गर्दा ठोस विधि, प्रक्रिया र मापदण्ड निर्माण गर्न आग्रह गर्दै उनीहरूले पूर्णकालीन, सक्रिय एवं पार्टी तथा जनताका लागि योगदान गर्ने नेताहरूको व्यवस्थापनमा ध्यान दिन नेतृत्वलाई आग्रह गरेका छन् । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार