संगठित सुन तस्करी: पर्दापछाडि को–को ? यस्ताे छ थप रहस्य!

काठमाडौँ । संगठित सुन तस्करीका मुख्य अभियुक्तका रूपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थित आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान समितिले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी उनलाई सार्वजनिक गरेको हो ।

पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफूभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसबापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।

पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए । ‘एकैछिनमा रुने, गम्भीर हुने र मरौंमरौं लागेको बताउने गरेका छन्,’ ती सदस्यले भने, ‘प्रहरीसमक्ष मलाई बचाइदिनुस् भन्दै रोए ।’ प्रारम्भिक बयानमा गोरेले समातिएकाहरू सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिल्लो तहबारे खुलाएका छैनन् । ‘उनका कुरा गोलमटोल र अस्वाभाविक देखिन्छ,’ ती सदस्यले भने, ‘कुरा लुकाउन खोजेजस्तो पनि देखिन्छ ।’

संगठित सुन तस्करीमा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ (यसअघि पक्राउ परिसकेका) र उनका साला पर्ने छिरिङ वाङ्गेल घलेको कनेक्सन रहेको गोरेले बताएका छन् । विमानस्थलस्थित थाई एयरलाइन्समा लोडर काम गर्ने बालकृष्ण श्रेष्ठले प्रहरीसँग बयानका क्रममा ‘सुन तस्करीमा एमके अग्रवाल भन्ने मोहनकुमार अग्रवालको लगानी र उक्त सुन ल्याउन गोरेसहित भुजुङ र डेबिट भनिने छिरिङले जिम्मा लिएको’ बताएका थिए ।

सुन तस्करीमा प्रहरी संलग्नताबारे सबै कुरा फरार एसएसपी श्याम खत्री र पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलालाई थाहा भएको गोरेको बयान छ । उनले आफूले श्याम, गोविन्द र महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई मात्रै चिनेको बताएका छन् । गोरेको साथबाट बरामद मोबाइलमा उनकै स्वरमा केही अडियो क्लिपसमेत प्रहरीले फेला पारेको छ । त्यसमा उनले आफू निर्दोष रहेको र सबै दोष आफूमाथि थोपरेर फसाइएको बताएका छन् ।

प्रहरीका उच्च अधिकारी उच्च राजनीतिक संरक्षणविना अवैध सुन तस्करी कसरी सम्भव छ भन्ने प्रश्न गर्छन् । सुन तस्करीमा हुन्डीका ठूला कारोबारी, विदेशबाट ठूलो परिमाणमा विभिन्न वस्तुको न्यून बिजकीकरण गरेर आयात गर्नेहरूको समेत संलग्नता रहने गरेको यसअघिका घटनाले देखाइसकेका छन् । समितिले हुन्डीको कारोबार गर्नेहरू केहीलाई पनि संगठित सुन तस्करीमा समेत संलग्नको आशंकामा पक्राउ गरेको छ । पक्राउ परेकामध्ये धेरैजसो थोरै परिमाणमा खाडी देशबाट हुन्डी कारोबार गर्नेहरू रहेको बुझिएको छ ।

पत्रकार सम्मेलनमा समिति संयोजक पौडेलले प्राप्त प्रमाणका आधारमा थप अनुसन्धान बढाइने बताए । पौडेलले हालसम्म समातिएका अभियुक्तबाहेक अन्य थप सम्भावित तथ्य प्रमाण फेला पारिएको जानकारी गराउँदै भने, ‘अनुसन्धानका विषय अत्यन्त गम्भीर र जटिल प्रकृतिको भएको र यो जेरीजस्तै जेलिएको छ । हामी हरेक जेरीलाई सेलरोटीजस्तै खुलाउँदै जाने चरणमा छौं ।’

गोरेले आफू आत्मसर्मपण गर्ने योजनामा रहेको बारे आफैंले मोबाइलमा भिडियो खिचेर राखेको पनि पाइएको छ । युटयुबमा समेत सार्वजनिक भइसकेको उक्त भिडियोमा गोरेले बारम्बार आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले सुन चोरी भएका बेला आफू कोलकातामा रहेको र सनमको हत्यापछि मामा भन्ने बालकृष्ण सन्जेललाई शव व्यवस्थापनका लागि आफैंले बोलाएको तर त्यसमा लेनदेनको कुरा बाहिर भनिएजस्तो नभएको भिडियोमा दावी गरेका छन् ।

गोरेले सनमलाई आफूले मात्रै यातना नदिएको, तर सुनको खोजी कार्य गर्न विमानस्थलका कर्मचारीलाई बोलाएर कुराकानी गरेको बताएका छन् । उनले सनम हत्यामा आफू संलग्न नभएको दाबी गर्दै बाहिरिएको भिडियो सनमको मृत्युको अघिल्लो दिनको भएको बताए । गोरेले सनमको गल्ती भेटेपछि त्यसरी कुटपिट गरिएको र आफूहरूबीच कुटपिट भइराख्ने कुरा सामान्य भएको समेत बताएका छन् । भिडियोमा उनले लुटिएको सुन आफ्नो नभएको र मालिक अरू नै रहेको बताए पनि मालिकको नाम भने खुलाएनन् ।

सनमको हत्यापछि ज्यानको माया भएर आफू भागेको बताएका गोरेले सम्पूर्ण दोष आफूलाई लगाइए पनि तस्करीमा छिरिङ र भुजुङसमेत रहेको बताए । सुनका अन्य लगानीकर्तामा एमकेबाहेक अन्य भारतीय रहेको उनले जनाए । एमके प्रहरीको फरार प्रतिवादीमा रहेका मोहनकृष्ण अग्रवाल हुन् । उनले आफूमाथि सुन खोजेर ल्याउन नभएर पैसा तिर्न दबाब दिइएको बताएका छन् । तर त्यस्तो दबाब कसबाट, कसरी आएको थियो भन्ने खुलाएका छैनन् ।

उच्च स्रोतका अनुसार शाक्यको हत्यालगत्तै गोरे भागेर भारत पुगेको सूचना प्रहरीले पाएको थियो । महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले कोलकातास्थित भारतीय प्रहरीका केही उच्च अधिकारीसँग व्यक्तिगत सम्पर्कका आधारमा गोरे उता पुगेको सूचना दिएको महाशाखाका अधिकारी बताउँछन् । संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान सुरु भएपछि गोरेको खोजी तीव्र पारिएको थियो । प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रहरी उच्च स्रोतले गोरे भारतको सिक्किम क्षेत्रमा लुकेर बसेको र उनलाई संगठित सुन ओसारपसारमा संलग्न केही भारतीय लगानीकर्ताले धम्की दिइरहेको सूचना पाएको थियो । ३३ किलो सुनका मुख्य मालिक भनिएका सुनसरी, धरान उपमहानगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्ने मोहनकुमार अग्रवालले गोरेलाई सुन खोज्न वा त्यसबापतको रकम दिन दबाब दिएको स्रोतको दाबी छ । भारतमा रहेको सुनका लगानीकर्ताले गोरेलाई जसरी पनि सुन खोज्न वा आफ्नो लगानी बराबरको रकम फिर्ता दिन दबाब दिएका थिए ।

सुन लुटिएका बेला गोरे भारतमै थिए । सुन हराएको बारे भारतीय लगानीकर्तालाई उनैले बताएका थिए । त्यसपछि उनीहरूले गोरेलाई कुटपिट गरे । जसरी पनि सुन पत्ता लगाएर ल्याउने वाचा गर्दै उनी उम्किएर नेपाल आए । त्यसपछि उनले सुन तस्करीमा संलग्नहरूलाई पूर्वका विभिन्न ठाउँ डुलाउँदै सुन कहाँ छ भन्दै करेन्ट लगाउँथे । अनेक यातना दिन्थे । समितिका एक सदस्यका अनुसार उनले यातना दिएका सबै दृश्य मोबाइलमा कैद गर्थे र सुनको खोजीमा आफू लागिपरेको प्रमाणित गर्न भारतीय लगानीकर्तालाई उक्त भिडियो पठाउँथे ।

शाक्यको हत्यालगत्तै भारत पुगेका गोरेले भारतीय लगानीकर्ताबाटै आफू असुरक्षित रहेको बुझेपछि स्वदेश फर्केर आत्मसर्मपण गरे सुरक्षित भइने ठानेका थिए । फर्कनु अघि उनले झापास्थित केही मानव अधिकारवादी संस्थाका प्रतिनिधिलाई आफूले आत्मसर्मपण गर्न चाहेको सूचना पुर्‍याएका थिए । स्रोतका अनुसार स्थलमार्ग हुँदै काठमाडौं छिरेका गोरे घरमा रहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुन तस्करी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षमा राख्ने फैसला सुनाएपछि पूर्वडीआईजी गोविन्द निरौला र निलम्बित एसएसपी दिवेश लोहनीलाई कारागार लगिँदै । तस्बिर : वेदराज पौडेल

२८ थुनामा
विराटनगर– साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले २८ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार आदेश दिएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये एक जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका छन् ।

मुद्दा दर्ता भएको २१ दिनपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सन्जेललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजु महर्जन, राजन थापा, अमर डंगोल, तुलाराम थारू, व्यापारी महावीर गोल्यानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । राजेन्द्रमान शाक्य, भुजुङ गुरुङ, सनम हत्याका प्रतिवादीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई पनि थुनामा राख्न आदेश दिइएको छ ।

उनीहरूलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ (२) का आधारमा नियमअनुसार सिदा पाउने गरी थुनुवा पुर्जी दिई पुर्पक्षका लागि मोरङ कारागारमा पठाउन अदालतले आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ– ‘सुन खरिद गर्न केही प्रतिवादीले लगानी गर्ने र अरूले दुबईबाट प्राप्त सुन एयरपोर्टबाट सुरक्षाका साथ बाहिर निकालेर सम्बन्धितकहाँ पुर्‍याउने गरेको सन्दर्भमा २०७४/१०/०९ मा बीचबाटैमा सुन हराएको कारण पत्ता लगाउन संगठनभित्रका सदस्यलाई अपहरण तथा शरीर बन्धक लिने, विभिन्न एकान्त ठाउँमा लगी यातना दिने क्रममा उर्लाबारीमा मृत्यु हुन पुगेका सनम शाक्यको लास दबाउनका लागि विभिन्न प्रयत्न गर्ने/गराउनेसमेतका कार्यमा संलग्न यी प्रतिवादीलाई थुनुवा पुर्जी दिई कारागार शाखा मोरङमा पठाइदिनू ।’

प्रतिवादीमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीका ड्राइभर विष्णु खडकालाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै १५ हजार धरौटी लिई तारेखमा राख्न आदेश भएको छ । धरौटी प्राप्त नभए उनलाई पनि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

यसैगरी तत्कालीन एसएसपी श्याम खत्रीका सुरक्षा गार्ड अमरबहादुर थापामगरको प्रत्यक्ष संलग्नता नदेखिएको र सहअभियुक्तकै पोलका आधारमा मात्र थुनामा राख्न वा धरौटी लिन नमिल्ने भएकाले तारेखमा रिहा गर्ने आदेश भएको छ ।

फरार रहेकाको हकमा कानुनबमोजिम म्याद जारी गर्न अदालतले आदेश दिएको छ । यो प्रकरणमा बरामद भएका दशीका सामान जिन्सीमा आम्दानी बाँध्न र कुनै थुनुवा प्रतिवादी बिरामी भए उपचार व्यवस्था मिलाउन अदालतको आदेश छ । वैशाख १९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गराएको थियो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरेको छ ।

मुद्दा दर्तापछि अभियुक्तहरूको बयान, ७ जना सरकारी वकिलको बहस, प्रतिवादीका वकिलको बहस र त्यसपछि फेरि सरकारी वकिलको प्रत्युत्तर बहस प्रक्रिया पूरा गरिएको थियो । मंगलबार तीन जना सरकारी वकिलको प्रत्युत्तर बहस सुनिसकेर न्यायाधीश शर्माले थुनछेक आदेश गरेका थिए ।

गोरे अदालतमा
यो प्रकरणका मुख्य योजनाकार भनिएका अभियुक्त चूडामणि उप्रेती (गोरे) लाई प्रहरीले मंगलबारै जिल्ला अदालत मोरङमा हाजिर गराएको छ । बुधबारदेखि उनको बयान लिनेलगायत प्रक्रिया सुरु हुने जनाइएको छ ।

राजधानीमा पक्राउ गरी हवाई मार्ग हुँदै विराटनगर ल्याइएका उनलाई कार्यालय समय सकिन लाग्दा कडा सुरक्षाका साथ अदालतमा उपस्थित गराइएको थियो । आदेश सुन्न भेला भएका अभियुक्तका आफन्तलगायतको बाक्लो उपस्थिति रहेको अदालत परिसरमा मृतक सनम शाक्यका आफन्तले गोरेलाई कडा कारबाही माग गर्दै नारा लगाएका थिए । त्यसपछि अदालतमा थप सुरक्षाकर्मी ल्याइएको थियो । विराटनगर विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय पुर्‍याएर राखिएका उनलाई अदालत ल्याउँदा र फर्काउँदा कडा सुरक्षा दिइएको थियो । गोरे पक्राउ परेपछि अब ३२ जना अझै फरारको सूचीमा छन् । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार