Bal-Umang

Bal-Umang

फुटाउ र राज गर नीति घातकः उपेन्द्र यादव

टीकापुर । फुटाउ र राज गरको नीति नेपालका लागि निकै घातक भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

कैलालीको जोशीपुरमा भएको सभामा सम्बोधन गर्दै नेताले यादवले अहिलेको राज्य सत्ताले कहिले थारु पहाडी, कहिले पहाडी मधेसी त कहिले यहाका मधेसी थारु पीछडिएका समुदायलाई विदेशीले उचालेको भनेर फुटाउ र राज गरको नीति अपनाएको बताएका हुन् ।

राज्य सत्ताले पीडा कहाँ छ भनेर खोज्न नचाहेको र उनीहरुको पीडा कम गर्नतर्फ ध्यान नदिएको सुनाए । उनले भने, ‘दुई/चार जनाको स्वार्थ पूर्तिका लागि अहिलेको संविधान ल्याइएको छ । यसमा हाम्रो चित्त बुझेको छैन । यो संविधान पुनरावलोकन गरौं भनेका छौं ता कि सबैले संविधानमा स्वामित्व महसुश गरोस ।’

टीकापुर घटनाको प्रसंग कोट्याउँदै उनले नेपालमा भएको दुई घटना दरबार हत्याकाण्ड र टीकापुर घटनाको रहस्य बुझ्न नसकेको सुनाए । उनले भने,‘टीकापुर घटनाको रहस्य पत्ता लगाउन आयोग बन्यो तर प्रतिवेदन सार्वजनिक भएन । घटनाका नाममा निर्दोष व्यक्तिलाई जेलमा हालीराख्न हुन्न ।’

‘आफ्नो हक अधिकारका लागि आन्दोलन गर्न आवश्यक छ तर विभेदको आन्दोलन हत्या हिंसा होइन,’ उनले भने, ‘झापा विद्रोहका नाममा जनयुद्धका नाममा हत्या हिंसा भएको छ । के कानुन गरिब कमजोरलाई मात्र हो ।’

‘सत्य निरुपण तथा मेलमिलाप आयोग बने पनि पिडितले न्याय पाएका छैनन्,’ उनले भने, ‘यसको जवाफ राज्यले दिनपर्छ कि पर्दैन ।’

भौगोलिक सांस्कृतिक हिसाबले नेपाल संसारको अत्यन्त सुन्दर मुलुक भएपनि राज्यको विभेद नीतिका कारण समृद्ध हुन नसकेको उनले बताए । उनले भने,‘शहर र गाउँको विभेद छ । महिला र पुरुषको विभेद छ । जातिय विभेद छ । यसलाई नहटाएसम्म देश समृद्ध हुन सम्भव छैन ।

नेता यादवले भने,‘धेरै मुलुकमा जातीय द्वन्द्व र संघर्ष भएका छन् । त्यसबाट पाठ सिक्नुपर्छ । जातीय द्वन्द्वबाट बच्ने उपाय भनेकै राज्यको विभेदकारी नीति हटाउने हो । एउटै भाषा एउटै भेषलाई हटाएर सबै भाषा सबै भेषको नीति ल्याउन जरुरी छ ।’

नेपाल जसतो भौगोलिक सांस्कृतिक विविधता भएको देश संसारमा अरु नभएकोले यो देशलाई समृद्ध बनाउन सबैको भागेदारी र सबैको साझेदारी नीति ल्याउन जरुरी रहेको उनले बताए । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार