दाइजो माग्दा बिहे भाडिएपछि एक युवतीद्धारा आत्महत्या

दिलमाया देवकोटा
काठमाडौं ११, वैशाख । मागेजति दाइजो नदिएपछि बिहे भाडिदा विरगञ्जमा एक युवतीले आत्महत्या गरेकी छन् । प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका, ८ का बच्चु भन्ने जयनारायण साह छन् ।

स्थानीय जयनारायणका छोरा २१ बर्षीय शिव दयाल र दिनदयाल साह तेलीकी छोरी १८ वर्षीया रविता कुमारीबीच विवाहको कुरा छिनिएको थियो ।

वैशाख १४ गते विवाह गर्ने तय भएको थियो । विवाहको निमन्त्रणा कार्डसमेत छापिसकेको थियो ।

तर, जयनारायण र उनको छोरा शिवदयालले दिनदयाललाई फोन गरी थप ८० हजार दाइजो मागेपछि विवाह भाडियो । बिहेको कुरा छिन्दा नै सुनका गहनालगायत दाइजो लेनदेनको सहमति भएको थियो ।

तर, केटापक्षले थप दाइजो मागेपछि दिनदयालले असमर्थता जनाए । जयनारायणले ‘दाइजो नदिने भए विवाह गर्न आउँदैनौ’ भने ।

रविताकुमारीले शिव दयाल विवाहका लागि तय भएका केटासँग फोनमा कुरा गरिन् । तर, उनले पनि थप दाइजो मागे । त्यही कारण रविताले वैशाख ६ मा आत्महत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।

‘दाइजो दिएर बिहे गर्नु भन्दा मर्नु नै बेस’ भन्दै किशोरीले आत्महत्या गरेको पुष्टि भएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । प्रहरीले दाइजोका लागि दबाव दिने जयनारायणलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरेको छ ।

कुनै दबाव वा प्रभावका कारण आत्माहत्या गरेमा त्यस्तो कारकलाई पक्राउ गरी कारबाही गर्न सक्ने व्यवस्था छैन । तर, दाइजोको मोलमोलाई भएका कारण सामाजिक व्यवहार सुधार ऐन आकषिर्त हुने देखिएको छ ।

उनले भने ‘दाइजोकै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ । त्यसैले आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं ।’

जयनारायणलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार