जुम्लामा छुईगोठमुक्त गाउँ घोषणाको लहर, धामीझाँक्री नै अभियानमा

जुम्ला, १० वैशाख | चेतनाको विकाससँगै पछिल्लो समयमा जुम्लाका ग्रामीण बस्ती धमाधम छुईगोठमुक्त घोषणा भइरहेका छन् । बदलिँदो परिवेशअनुसार सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण गाउँबस्ती छुईगोठमुक्त घोषणा हुने क्रम बढ्दै गएको हो ।

गाउँमा रहेका विभिन्न महिला समूह, सहकारीले गरेको छलफल तथा चेतना अभिवृद्धिको परिणामस्वरूप जिल्लाका गाउँ छुईगोठमुक्त घोषणाको लहर चलेको छ । गाउँका महिला सामाजिक कुसंस्कारविरुद्धको महान् लडाइँमा सक्रियताका साथ लागिपरेका छन् ।

महिनावारी हुँदा गोठमा बस्दा हुने विभिन्न समस्यालाई बुझ्दै गाउँका धामीझाँक्री पनि कार्यक्रमा सहभागी भएपछि जिल्लाका विभिन्न बस्ती छाउमुक्त घोषणा हुँदै गएका छन् । उनीहरू छुईगोठमुक्त अभियानमा आफैँ सक्रियतासाथ लागिरहेका छन् ।

यस्तै, एक कार्यक्रमबीच आइतबार तातोपानी गाउँपालिका–४ को जैतपुर गाउँलाई छाउमुक्त घोषणा गरिएको छ । जैतपुर गाउँका आममहिलाको समर्थनमा यस्तो घोषणा गरिएको हो । घोषणापछि महिनावारी हुँदा अब गोठमा नभई सरसफाइका साथ घरमै बस्ने त्यहाँका महिलाले साझा प्रतिबद्धता गरेका छन् । लामो प्रयासपछि गाउँलाई छाउमुक्त घोषणा गरेकोप्रति महिला खुसी छन् । जैतपुर गाउँकी स्थानीय महिला सम्झना कामीले भनिन्, ‘हामी पिँजडाको सुगा जस्तै थियौँ । अहिले मुक्त भएको आभास भएको छ ।’ उनले किरा फट्यांग्राले टोक्ने, बलात्कृत हुनेलगायत डर मनमा पालेर गोठमा बस्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको बताइन् । त्यस्तै, छाउगोठमुक्त अभियानमा सक्रिय मस्टोका धामी मुनबहादुर कामीले छुई हुँदा घरमा बसेपछि देवता रिसाउने भ्रम रहेको बताए । यो कुरा अहिले अफूले बुझ्दै गएको उनको भनाइ छ ।

छाउपडीमुक्त घोषणा कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिका प्रमुख नवराज न्यौपानेले नमुना गाउँपालिकाको पहिलो खुट्किलोस्वरूप छाउमुक्त घोषणा भएको बताए । उनले भने, ‘समृद्धिको सुरुवात हरेक वडाबाट हुनुपर्छ । सदियौँदेखिको कुसंस्कार हटाउन हामी सबैको उत्तिकै जिम्मेवारी तथा भूमिका हुनुपर्छ ।’ कार्यक्रममा सहभागी वडाअध्यक्षहरूले समयसापेक्ष परिवर्तन जुम्लाका महिलाहरूले चाहेको बताए ।

आठ गाउँबस्ती छुईगोठमुक्त
तातोपानी गाउँपालिकाको जैतपुर, हियाखोला र श्रीनगर, तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा, ढिमकोट र पातासरी गाउँपालिकाको माथिल्होर्प र तलिल्होप गरी जुम्लाका आठ गाउँबस्ती छुईगोठमुक्त घोषणा भएका छन्  नयाँ पत्रिका बाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार