Bal-Umang

Bal-Umang

एकता वार्ता सकारात्मक : यस्तो छ सहमतिको तयारी

पाँच महिनादेखि सघन वार्तामा रहेका एमाले–माओवादी एकता प्रक्रियाको अन्तिम बिन्दुमा

काठमाडौं, १० वैशाख |

यस्तो छ सहमतिको तयारी

१० तहको पार्टी संरचना
दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी

५० प्रतिशत हाराहारी
केन्द्रीय कमिटीमा ५०–५०% राख्ने विषयमा अडिग माओवादी र त्यति दिनै नसक्ने एमाले दुवै लचिलो भएका छन् । ठ्याक्कै ५० नमिले पनि त्यही हाराहारीमा सहमति हुने सम्भावना छ ।

वरिष्ठ नेताको वरीयता
एमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।

एकीकृत पार्टीको कार्यदिशा
जनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।

स्थापना दिवसमा ओली र प्रचण्डले के भने ?

खुट्टा तासेर पनि एकता हुन्छ : प्रधानमन्त्री ओली
पार्टी एकताअघि सेन्टिमेन्ट पोखिन्छन् । आफ्ना कुराहरू राख्दा अर्काका कुराहरू पनि आउँछन् । आज यहाँ(सभाअघि) पनि दाँतमा किरिक्क ढुंगा लागेको हो, तर महान् उद्देश्य र लक्ष्यसहित अघि बढेको एकता यस्ता कुराबाट रोकिँदैन । प्रचण्डजीले जस्तो ‘केपीजी र म पछि हटे पनि एकता रोकिँदैन’ भन्ने सेन्टिमेन्टल कुरा म गर्दिनँ । सुपरमार्केटमा सामान किने जसरी, बाटाबाट टपक्क टिपे जसरी हामी यहाँ आइपुगेका होइनौँ । हामीले नै एकताको नेतृत्व गर्‍यौं, हामीले नगर्दा एकता हुँदैनथ्यो, अब पनि गरेरै छाड्छौं । कसैको टाउकोमा दोष थोपरेर उम्किने ठाउँ छैन । सफलतामा टुंग्याउनुबाहेक अर्को विकल्प छैन । जुत्ता मिलेन भने खुट्टा तास–तुस(तासेर) पनि मिलाउनुपर्छ, एकता त्यो बिन्दूमा पुगिसकेको छ ।

एकता मेलामा लगाएको मित जस्तो होइन
असमानता, विभेद र अपमानबीच एकता हुन्न, हुन सक्दैन । पारस्परिक सम्मान, न्याय र समझदारीका आधारमा एकता हुने हो । हाम्रो एकता मेलामा लगाएको मित जस्तो होइन, एउटै गन्तव्यमा पुग्ने बाटो पहिल्याएर नीतिगत सहमतिका साथ गर्न लागिएको एकता हो ।

विगत सम्झिदैनौं, अघि बढ्छौं
विगतमा एमालेले गल्ती गरे पनि माओवादीले गल्ती गरे पनि जसले गर्‍यो, उसैले नोक्सानी ब्यहोर्‍यो । सम्झिएर बस्दैनौं, अघि बढ्छौं । अगाडिका समस्या र चुनौति के–के छन् ? नयाँ ढंगले आन्दोलन अघि बढ्छ ।

आइन्सटाईनले माक्र्सलाई ईश्वर भन्नुभो, नपढ्नेले बुझदैनन् गुलावको फुल कहिल्यै नदेखेकाले मलाई मन पर्दैन भने जस्तै पढ्दै नपढेका कतिपयले माक्र्सवाद–लेनिनवाद मन पर्दैन भन्छन । त्यो त रसवरी कहिल्यै नखाएकाले मलाई मन पर्दै पर्दैन भने जस्तै हो । एकपटक विश्व चर्चित वैज्ञानिक अल्र्बट आइन्साटाईनलाई ईश्वर देखेका छौ ? भन्ने प्रश्न सोधियो । उहाँले जवाफ दिनुभो–छन् भन्ने विश्वास त छैन तर मैले आजसम्म देखेको ईश्वर कार्ल माक्र्स मात्र हुनुहुन्छ । उहाँले संसारलाई बुझ्ने र बदल्ने दर्शन अघि सार्नुभएको छ । माक्र्सलाई आइन्सटाईनले बुझ्नुभो । नपढेकाले कसरी बुझ्छन् ? बुझ्दै बुझ्दैनन् ।

जनताको घेराबन्दीमा छौँ : प्रचण्ड, माओवादी अध्यक्ष
अब एउटा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउँदै देशलाई समृद्धिको नयाँ युगको यात्रातिर लग्नु छ । राष्ट्रिय अडानका कारण नेपाली जनताले भरोसा गरेका हुन् । हामीलाई कतै दायाँबायाँ गर्ने छुट छैन । चारैतिर जनताको, कम्युनिस्ट कार्यकर्ताको घेरा छ । विश्व जनमतले पनि हामीलाई घेराबन्दी गरेको छ । केपी ओली र मैले हस्ताक्षर गरेर पार्टी एकता गर्ने सहमतिसँगै चुनावमा उम्मेदवार र घोषणापत्र साझा बनायौँ । अब यी सबै जनताको सम्पती भएको छ । केपीजी र मैले अलीकति पनि दायाँ बायाँ गर्‍यौं भने जनताले छुट दिनेवाला छैनन् । कोही कम्यूनिष्टले छुट दिने स्थिति छैन । एकता हामीले हतारमा गर्ने पछि पछुताउनेगरी गर्दैनौं । एकता गरेको भोलिपल्टबाटै समस्या नओस भन्नेमा सचेत छौं ।

संगठनात्मक एकताको मोडालिटीमा सहमति भइसक्यो
वैचारिक, सांगठनिक र नीतिगत विषयमा कुरा निष्र्कषतिर गइसकेको छ । संगठनात्मक रुपमा कुन मोडल अपनाउने भन्ने विषयमा दुई अध्यक्षवीच एउटा सहमती भएको छ । त्यो सम्मानजनक ढंगले एकता गर्नुपर्छ, कसैले कसैलाई ह्यूमिलेट गर्ने अपमानित गर्ने या विभेद हुनुहुन्न भन्ने हो । एकता गर्दा समानताको सिद्धान्तलाई पनि अंगिकार गर्नुपर्ने हुन्छ । समानताका आधारमा एकता गर्नु पर्ने हुन्छ । तेस्रो, न्यायोचित ढंगले एकता गर्नु पर्ने हुन्छ ।

नभनेको दिन डयाम्पै एकता हुन्छ
हामीले वैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय त गरेका थिएनौ । कार्यदलको सुझाव थियो । वैशाख ९ गते एकता गर्दा राम्रो हुन्छ भन्ने कुरालाई एकता संयोजन समितिले पनि स्विकार गरेकै थियो । बाहिर मिडियामा वैशाख ९ गते एकता हुन्छ भन्नेगरी गयो । मानौं हामीले निर्णय नै गर्‍या जस्तो ।

कम्तीमा यो कुरा बुझे हुन्छ, हल्ला गरेपछि त्यस दिन एकता हुदैन । यहाँ अनेक–अनेक छन, त्यो पनि बुझ्नु होला कमरेडहरु । यहाँ एउटा मात्र खेल भन्ने छैन । यहाँ धेरै तागत, प्रवृत्तिहरु, स्वार्थहरु टकराई रहेका हुन्छन । हामी त्यो दिन एकता गर्छौ भन्यो भने त्यो दिन एकता नै हुँदैन । हेर्नु होला नभनेका दिन हुन्छ पार्टी एकता । जुन दिन भनिएको हुँदैन, त्यो दिन ड्याम्मै एकता हुन्छ र डयाम्मै एकता गर्नु पनि पर्छ ।

पार्टी ठुलो हुँदा कति अहकंकार पलाउँछ हामीलाई थाहा छ
एमालेलाई भनिन्छ–तपाईहरुले यो सिद्धिन लागेको माओवादीलाई महत्व दिनु पर्‍यो भन्ने गरिन्छ । ‘सबै परिवर्तन तपाईहरुले ल्याएको, क्रान्ति तपाईहरुले ल्याएको, यस्तो एमालेसँग किन एकता गर्नु पर्‍यो’ माओवादीलाई उचालिन्छ । यि सबै थाहा छ मलाई । हामी ठुलो पार्टी हुँदा कस्तो अनुभुति हुन्थ्यो भन्ने पनि थाहा छ । हामी ०६४ सालमा सारै ठुलो पार्टी भयौ । सारै ठुलो हुनु पनि ठिक रहेनछ । ठुलो भएपछि धर्ती छोडिदो रहेछ क्या । सबैै हामी, अरु त केही होइनन भन्ने ठानिदो रहेछ । अनी, जनताले पछारेपछि कस्तो हुँदो रहेछ भन्ने पनि थाहा पाईयो । ०७० सालमा तेस्रो बनाएर जनताले पछारेपछि कस्तो हुँदो रहेछ भन्ने पनि थाहा पाईयो । सानो हुँदा कस्तो हुदो रहेछ भन्ने पनि थाहा पाईयो । हामीलाई मात्र होइन एमालेका नेता/कार्यकर्तालाई पनि थाहा छ । ठुलो हुँदा कस्तो हुन्छ, सानो हुँदा कस्तो हुन्छ । हामीले एक अर्कालाई सम्मान गर्नै पर्छ । एक अर्काबाट सिक्नै पर्छ । हाम्रो रणनीति जनयुद्धमा जाने भन्ने पनि होइन, जनयुद्धमा कोही पनि जाने भनेको छैन् ।

सभागृहमा चार घन्टा विवाद

आइतबार मध्याह्न १२ बजे
लेनिनजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा एमाले र माओवादी केन्द्रले आइतबार राष्ट्रिय सभागृहमा संयुक्त कार्यक्रम आयोजना गरेका थिए । १२ बजे कार्यक्रम सुरु हुने भनिएको थियो, तर त्यसअघि नै भित्र हल भरिएर चौरमा पनि बाक्लो भिड थियो । बाहिर उपस्थित कार्यकर्ताका लागि भवनको दुवैतर्पm प्रोजेक्टरको पनि व्यवस्था गरिएको थियो ।

मध्याह्न १२ः३० बजे हलमा होहल्ला
कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो । अचानक हलभित्र होहल्ला सुरु भयो । कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो । लेनिन दिवसमा लेनिनको फोटो खोइ भन्दै नाराबाजी सुरु भयो । आयोजकमा नेकपा (एमाले)सँगै नेकपा (माके) लेखिएकोमा उनीहरूको आपत्ति थियो । यस्तो ब्यानर हटाएर मात्र कार्यक्रम सुरु हुनुपर्छ भन्ने उनीहरूको माग थियो ।

आधा घन्टापछि वर्षमान मञ्चमा
फ्लोरमा तनाव बढिरहेको वेला माओवादी नेता वर्षमान पुन स्टेजमा उक्लिए । उत्तेजित कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘कृपया संयमित हुनुस्, अनुशासनमा बस्नुस्, तपाईंहरूका सबै जायज माग शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ ।’ तर, तनाव शान्त भएन । ब्यानर फेर्नुपर्ने माग एकोहोरो रूपमा उठिरह्यो । एमाले कार्यकर्ता भने लगातार मौन थिए ।

ब्यानर निकाल्न महानगरका कर्मचारी
हलमा होहल्ला भइरहेको वेला भित्र दोस्रो तहका नेताहरूले संक्षिप्त छलफल गरेर ब्यानर निकाल्ने सहमति गरे । नेताहरूकै निर्देशनमा महानगरपालिकाका कर्मचारीले ब्यानर निकालेर उल्टो पारे । नारा लगाउनेहरूले ताली बजाए । यसबीचमा माओवादीको तर्फबाट अर्को ब्यानर बनाउने सहमति भयो । त्यतिन्जेलसम्म केपी ओली र प्रचण्ड सभागृह आइपुगेका थिए । तर, उनीहरू हलमा होइन, भित्री कोठामा छलफलमा बसे ।

मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई
आयोजकहरूले नयाँ ब्यानरको प्रतीक्षा गरिरहेका थिए । त्यसैले साढे दुई बजेसम्म कार्यक्रम सुरु हुन सकेको थिएन । कार्यकर्ताहरू आत्तिएर फर्किन थालेपछि अचानक बद्री पंगेनीलाई स्टेजमा बोलाइयो । एकता गर ओली र प्रचण्ड भन्दै उनले लोकभाकामा गीत गाउन थालेपछि दुवै पक्षका कार्यकर्ताले थपडी पिट्न थाले । खासमा उनी कार्यक्रममा समेत थिएनन्, गीत गाउनका लागि फोन गरेर तत्कालै बोलाइएको थियो ।

३ बजेतिर नयाँ ब्यानर आइपुग्यो
माओवादीले तयार पारेको ब्यानरमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर थियो । एमालेले तयार पारेको ब्यानरसँगै नयाँ ब्यानर टाँगिएपछि माओवादी कार्यकर्ताले फेरि ताली बजाए । तर, पाँच मिनेटमै डोरी चुँडिएर खस्यो । फेरि टाँग्न १५ मिनेट लाग्यो ।

अनि सुरु भयो तस्बिर विवाद
ब्यानर विवाद सकिएर कार्यक्रम सुरु हुनै लागेको थियो, एमाले नेता कृष्णगोपाल श्रेष्ठ दुईवटा तस्बिरसहित स्टेजमा उपस्थित भए । एउटा तस्बिर माक्र्सको र अर्को लेनिनको थियो । दुवै तस्बिर ओली र प्रचण्ड बस्ने सोफाअगाडिको टी–टेबुलमुनि राखिएको थियो । यही विषयमा आपत्ति गर्दै फेरि हुटिङ भयो । एक मिनेट नहुँदै तस्बिर उठाएर स्टेजको अघिल्लो भागमा कुर्सीमा राखियो । तर, माक्र्सको तस्बिर सानो र लेनिनको अलि ठूलो थियो । यो विषयमा पनि हुटिङ भयो । काठको टेको लगाएर माक्र्सको तस्बिर पनि अग्लो बनाइयो । यसरी सारा बिघ्न समाप्त भएर कार्यक्रम सुरु हुँदा करिब चार बजेको थियो । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार