सिरहा सेवा समाजको अध्यक्षमा विष्णु साह चयन

मुलुककै ठूलो अस्पताल मेडिसिटीमा दश प्रतिशत उपचार छूट दिलाउने समाजको प्रतिबद्धता

काठमाडौं । सिरहा जिल्लाबासीको हकहित संरक्षणमा सक्रिय रहेको सिरहा सेवा समाजको नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु साह चयन भएका छन् । काठमाडौंमा आयोजिक समाजको बृहत् भेलाले साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सिरहा सेवा समाजको नवनिर्वाचित विष्णु साह संघीय समाजवादी फोरम नेपालको केन्द्रीय परिषद् सदस्य हुन् । सिरहा सेवा समाजको अध्यक्षमा चयन भए लगत्तै साहले सिरहाबासी जनताको हकहितमा सक्रिय ढंगले काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

राज्यको सेवा सुविधा र पहुँचबाट बंचित रहेका सिरहाबासीको हकहित र उनीहरुको अधिकारको संरक्षणको लागि नयाँ ढंगबाट काम गर्ने साहले बताएका छन् ।

राजधानी काठमाडौंमा आयोजित सो भेलाबाट सिरहा सेवा समाजको नयाँ नेतृत्वले मुलुककै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल मेडिसिटीमा उपचार गराउने बिरामीलाई उपचारमा दश प्रतिशत छूट दिलाउने प्रतिबद्धता जाहेर गरेको छ । सिरहा सेवा समाज मार्फत् उपचारको लागि मेडिसिटी अस्पताल जाने बिरामीको उपचारमा दश प्रतिशत छूटको व्यवस्था गरिएको समाजका नयाँ अध्यक्ष साहले जानकारी दिए ।

समाजको नयाँ नेतृत्व चयन कार्यक्रम सिरहा जिल्लासँग आबद्ध रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो । खासगरी सिरहाबासी एवं मेडिसिटी अस्पतालका संचालक डा. उपेन्द्र महतोको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहाका जेष्ठ नागरिक एवं वरिष्ठ राजनीतिज्ञ गौरीशंकर लाल दासको उपस्थिति थियो । यसैगरि, कार्यक्रको विशिष्ठ अतिथिमा फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवं प्रदेश नं. २ का अर्थमन्त्री विजय यादवको गरिमामय उपस्थिति रहेको थियो ।

साह नेतृत्वको सिरहा सेवा समाजको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निरु कार्की, सुदिप बास्कोटा र शम्भु साह चयन भएका छन् । महासचिवमा मदन कोइराला चुनिएका छन् ।

त्यस्तै, सचिवमा प्रविण यादव, कोषाध्यक्षमा जित बहादुर बास्कोटा र सहकोषाध्यक्षमा सुमन मिश्र चयन भएका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार