Bal-Umang

Bal-Umang

बिरामीद्वारा आवेगमा आत्महत्या

काठमाडौं, ३ बैशाख : ‘ड्याड्, म तपाईंलाई धेरै माया गर्छु। प्यारी ममी मलाई माफ गरिदिनू ल। म तपाईंलाई दु:ख दिन चाहन्नँ।’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि गएका विजय खड्काले सुसाइड नोटमा आफ्नो भावना यसरी पोखे। भदौ २१ गते अस्पतालमा उपचारका लागि गएका खड्काले आफ्नो कारण परिवारलाई दु:ख परेको महसुस गरी आत्महत्या गरेको देखिन्छ। अस्पतालको झ्यालबाट हामफाल्ने पूर्वनियोजित योजनाको खुलासा गर्दै दाइ र बुबाप्रति हार्दिकता व्यक्त गर्दै उनले सुसाइड नोट लेखे अनि अस्पतालको तीन तलाको झ्यालबाट हामफाले।

गम्भीर अवस्थाका खड्काको उपचार क्रममा ज्यान गयो। मिर्गौलाका बिरामी खड्काले अल्पायुमै ज्यान गुमाए। अस्पतालका अनुसार १८ वर्षीय खड्काको मिर्गौलामा खराबी थियो। नयाँ जीवन पाउने आसमा उपचारका लागि अस्पताल पुगेका कृष्ण क्षेत्री टोखास्थित ग्रान्डी अस्पतालको छैटौं तलाबाट हामफालेर अस्पताल परिसरमै आत्महत्या गरे।

रोगमुक्त हुने आसमा रहेका बिरामी अस्पतालमा हामफालेर हात्महत्या गर्ने क्रममा क्षेत्री पछिल्लो व्यक्ति हुन्। स्याङ्जा, फेदीखोला-७ का क्षेत्री निको हुने आसमा क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा क्यान्सर भएको खुलेपछि उनी बेचैन थिए। तनावमा रहेका क्षेत्रीले सोही कारण सोह्र वर्षकै उमेरमा आत्महत्याको बाटो रोजे।

उपचाररत बिरामी आवेशमा आई अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ। १९ चैतमा अस्पतालको ट्रमा सेन्टरको छैटौं तलाबाट हामफालेर अमेरिकी नागरिक जोनले आत्महत्या गरे।

‘शुक्रबार बेलुका साढे चार बजे अस्पतालको झ्यालबाट हामफालेर उनले आत्महत्या गरे,’ प्रहरी नायब उपरीक्षक योगेन्द्र थापाले भने। मुलुकको जेठो अस्पतालका रूपमा लिइने वीर अस्पतालमा पनि उपचारका लागि गएका अमेरिकी नागरिकले आत्महत्या गरे। १९ चैतमा अस्पतालको ट्रमा सेन्टरको छैटौं तलाबाट हामफालेर अमेरिकी नागरिक जोनले आत्महत्या गरे। भिसा अवधि गुजारेर बसिरहेका उनलाई अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो। थुनामा रहँदा बिरामी भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका जोनले सुरक्षामा खटिएका प्रहरीलाई धकेल्दै हामफालेका थिए।

किन गरे आत्महत्या ?

आर्थिक, पारिवारिक तथा व्यक्तिगत तनाव झेल्न नसकेर व्यक्तिले आत्महत्या गर्ने विशेषज्ञहरूको भनाइ छ। सञ्चारमाध्यमले उजागर गर्न थालेपछि अस्पतालका आत्महत्या बढी प्रकाशनमा आएको मनोविद् करुणा कुँवर बताउँछिन्। उनी भन्छिन्, ‘डिप्रेसनका बिरामीले अस्पतालमा आत्महत्या गर्नु संयोग मात्र हो। उनीहरूले जुनसुकै स्थानमा पनि अनुकूल समयमा आत्महत्या गर्न सक्छन्।’ त्रिवि शिक्षण अस्पताल-मानसिक विभाग प्रमुख प्राडा सरोज ओझा भन्छन्, ‘बाँच्नुको सार छैन, अब बाँच्नु नै बेकार हो भन्ने सोचाइ आउन सुरु गर्‍यो भने बिरामीले आत्महत्या रोज्छ।’ कुँवरको मत छ, ‘दीर्घकालीन रोग लाग्दा बिरामीले आफूलाई परिवारको बोझ ठान्छन्। यस्तो भावना उत्पन्न हुनेबित्तिकै बिरामीले आफूलाई अनुकूल स्थान र समयमा आत्महत्या गर्न पुग्छ।’

के गर्ने ?

आवेशमा आएर आत्महत्या गर्ने प्रवृत्तिलाई चिकित्सकहरू ‘इम्पल्सिभ एक्ट’ (आवेगको प्रतिक्रिया) का रूपमा परिभाषित गर्छन्। प्राडा ओझा भन्छन्, ‘तुरुन्तै निर्णय गरी मर्नु नै ठीक छ भन्ठानी आत्महत्या गर्ने प्रवृत्ति देखिएको छ। त्यो इम्पल्सिभ एक्ट हो।’ यसबारे परिवार र समाज मात्र नभई स्वास्थ्यकर्मी पनि सचेत हुनुपर्ने ओझा बताउँछन् ,‘चिकित्सकले बिरामीको मानसिक अवस्था पनि पहिचान गर्न सक्नुपर्‍यो।’ बिरामीको पृष्ठभूमि बुझ्ने, मनस्थिति ख्याल गर्ने र परामर्शका साथै निगरानी गर्नुपर्ने उनको सुझाव छ। बिरामीलाई आफन्तले एक्लै नछाड्ने र अस्पतालले सुरक्षालाई महत्व दिँदै झ्यालमा रेलिङलगायत सुरक्षा अपनाउनुपर्ने ओझा बताउँछन्। अन्‍नपूर्ण पोस्ट्बाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार