Bal-Umang

Bal-Umang

सरकार विफल भए कम्युनिष्ट अान्दाेलन नै समाप्त हुन्छ : झलनाथ खनाल (अन्तरवार्ता)

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले चर्चामा छन् । राष्ट्रपतिको उम्मेद्वारको रुपमा उनको चर्चा थियो र उनको चाहना पनि भएको कुरा स्वीकारिसकेका छन् । प्रधानमन्त्री समेत भइसकेका र पटक पटक पार्टीको नेतृत्व गरिसकेका खनाल अब युवा पुस्ताको चाहना अनुसार सक्रिय हुने बताउँछन् । माओवादी केन्द्रसँग पार्टी एकीकरणलगायत अन्य विषयमा मणि दाहालका प्रश्नहरू

राष्ट्रपति उम्मेदवार बन्ने दाबी प्रस्तुत गर्नुभएको थियो । तर पार्टीले वर्तमान राष्ट्रपतिलाई नै दोहोर्याउने निर्णय गर्याे। अब पार्टी र राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्नुहुन्छ ?
सक्रिय राजनीतिलाई क्रमशः अन्य गर्दै राष्ट्रपतिको रूपमा  मुलुक र जनताको सेवा गर्दै जाने भनेर सोच बनाएको थिएँ । तर समय, परिस्थिति र पार्टीको निर्णयले सक्रिय राजनीतिक जीवनलाई निरन्तरता दिनुपर्छ र निष्क्रिय राजनीतितर्फ जानु हुँदैन भन्ने निर्णय गर्याे । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा भइरहेको एकतामा, वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि लाग्नेछु।

एमाले र माओवादी केन्द्रबीच हुने एकता महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्नुहुन्छ ?
यस विषयमा पार्टी नेता तथा कार्यकर्तासँग छलफल गर्छु । कस्तो भूमिका निर्वाह गर्दा पार्टी, कम्युनिस्ट र राजनीतिक आन्दोलनको हित हुन्छ त्यो भूमिकालाई विचार गर्दै अघि बढ्छु । वैचारिक, संगठनात्मक, सैद्धान्तिक सबै रूपले सक्रिय हुन्छु।

सरकार वा पार्टीको मूल नेतृत्वकै दाबी हुन्छ ?
पार्टी वा सरकारमा सबै प्रकारको नेतृत्व सम्हालेर आइसकेको मानिस हुँ। ती पदहरूमा वा जिम्मेवारीहरूमा दोहोर्याउन आपत्ति छैन । समय र परिस्थितिले गर्छ भने कुनै पनि पदमा दोहोरिन तयार छु।
सोच्नुपर्ने विषय भनेको एमालेको नवौँ महाधिवेशनले सत्तरी वर्षलाई एउटा आधार मानेको छ । यो विषय एकीकृत पार्टीमा लागू भयो भने जीवन सक्रिय भएपनि ठूलठूला पदहरूमा सोच्नुपर्ने आवश्यकता अन्त्य हुन्छ । तर पनि वैचारिक राजनीतिक र संगठनात्मक काममा लागि नै रहनेछु । यो व्यवस्था तल–माथि भयो भने स्वाभाविक रूपमा मेरो बाटो खुल्नेछ।

सत्तरी वर्षको समयसीमा हटाउन पर्याे भनेर प्रस्ताव गर्नुहुन्छ ?
यो विषयमा युवा पंक्तिले के भन्छ, त्यसैअनुसार हुन्छ । युवा पंक्तिले नेतृत्व लिन तयार छाैँ, अभिभावकत्व दिनुप¥यो भन्छ भने मान्न तयार छु । होइन नेतृत्वको आवश्यकता छ भन्यो भने त्यसै रूपमा अघि बढ्नेछु ।

नेतृत्व दोहोर्याउन खोजेको देखिँदैन ?
कम्युनिस्ट पार्टीलाई अघि बढाउने क्रममा चारपटक अगुवाइ गरेँ । पहिलो पटक कोअर्डिनेसन केन्द्र हुँदा, दोस्रोपटक २०३९ देखि ०४६ सम्म नेकपा माले नेतृत्व गरेँ । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि नेताहरू जेलमा पर्नुभयो त्यस समयमा  आन्दोलनमा पार्टीको नेतृत्व गरे । चौथो पटक पहिलो संविधानसभाको चुनावपछि पार्टीको हार भएर माधवकुमार नेपालले राजीनामा दिएपछि नेतृत्व सम्हालेँ र नवौँ महाधिवेशनसम्म नेतृत्व सम्हालेँ । चारै कालखण्डमा पार्टीको विकास, विस्तार, रूपान्तरण गर्ने काममा अन्त्यन्तै महत्वपूर्ण कार्यकाल हासिल गरेँ। त्यसै सिलसिलामा प्रधानमन्त्री पनि भएँ । पदहरूमा धेरै आकांक्षी भएर हिँडेको छैन । अहिले पनि छैन । तर परिस्थितिले कहिलेकाहीँ त्यो स्थानमा पुर्याउँछ । परिस्थितिले पुर्याउने स्थान मेरा लागि खुला नै छ।

यो परिस्थिति सिर्जना पार्टी जसरी सञ्चालन भएको छ त्यसबाट भएको भन्ने बुझाइ हो ?
एमाले कम्युनिस्ट पार्टी हो त्यसको स्वभाविक रूपमा पार्टी प्रणाली र पार्टी पद्धति हुन्छ । त्यसलाई तलमाथि गर्न पाइँदैन । पार्टीभित्र गुट खडा गर्ने, त्यसको आधारमा अघि जाने,  आग्रह र पूर्वाग्रह ढंगले जाने यो काम गर्न पाइँदैन । पार्टीलाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपले निरन्तर रूपान्तरणको काम हो । पार्टी निर्माण भनेको नितान्त रूपमा मानिस जम्मा गर्ने मात्रै होइन । वैचारिक, सैद्धान्तिक र संगठनात्मक रूपले रूपान्तरण गर्ने पनि हो । पार्टीमा रहेको विकार र विकृतिको बारेमा मैले त्यस समयमा इङ्गित गर्दै आएको छु । अस्तिको स्थायी कमिटीको बैठकमा पनि उठाएँ।

पार्टी प्रणाली र पद्धतिअनुसार चल्दै नचलेको हो ?
कतिपय कुराहरूमा त्यसअनुसार नचलेको देखिन्छ । यो कुराहरूलाई सच्याएर र परिमार्जन गरेर जानुपर्ने अवस्था छ । अझ दुई पार्टी एकीकृत गर्दैछौँ । अरू पार्टीबाट सबल र निर्बल पक्ष पनि आउँछन् । हामीभित्रको निर्बल पक्ष र अर्काेतर्फको निर्बल पक्ष जोडिन लाग्यो भने झन् खतरनाक हुन्छ । सबल पक्षलाई जोड्नेतर्फ ध्यान दिनुपर्छ।

पार्टी कसरी चलेको भन्ने मूल्याकंन हो ?
पार्टी अलि बढी एकलौटीकरण भयो कि भन्ने आवाज उठेको छ । यस विषयलाई नेतृत्वले गम्भीरतापूर्वक लिनु र ध्यान दिनुपर्छ । पार्टीभित्र सबै पक्षलाई समेटेर एकताबद्ध बनाएर अघि बढ्नुपर्छ । किनभने एकातिर विराट सम्भावना र चुनौतीबीचबाट गुज्रिएको छ । चुनौतीलाई सामना गर्दै अघि बढ्नका लागि हरतरहको सुदृढ बनाउने आवश्यक छ।

नेतृत्व गरिरहनुभएको अध्यक्षले के गरिरहनुभएको छ ?
नेतृत्व प्रक्रियाभित्र कतिपय कमी–कमजोरी छन् । त्यस्ता कमी–कमजोरीलाई सुधार गर्नका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने हुन्छ । नियमित रूपमा बैठक राख्ने, प्रक्रियापूर्वक विषयवस्तुलाई अघि बढाउने, निर्णयहरू त्यही ढंगले गर्ने, एकलौटी रूपमा नगर्ने, सामूहिक निर्णय गर्ने प्रक्रियामा अघि बढ्नुपर्छ।

सामूहिक निर्णयको पद्धति सकिएको हो ?
हुँदै नभएको भने होइन त्यसमा कमी भने भएको छ । समस्या देखिएको हो । यो समस्यालाई समाधान गरेर अघि बढ्दै छौँ । पटक पटकको छलफलहरूले यो कमी–कमजोरीलाई हटाउन मद्दत गरिरहेको छ।

गुटबन्दी एमालेका लागि नयाँ विषय नै होइन ?
नेपालमा राजनीतिक दलहरूमा गुटबन्दी रहँदै आएको छ । एमालेमा पनि त्यसको प्रभाव यदाकदा देखिएको छ । गुटबन्दी भनेको पार्टीको विकासका लागि खतरनाक रोग हो । कमरेड पुष्पलालले यसलाई महारोग नै भनुहुन्थ्यो । यसले बिस्तारै बिस्तारै पार्टीलाई समाप्त पार्छ । गुटबन्दी हुने र एउटा गुटले अर्कोमाथि शासन गर्ने प्रणीलीको विकास हुन्छ । जरैदेखि गुटबन्दीलाई अन्त्य गर्नुपर्छ भन्ने पक्षमा छु । गुटबन्दीविरुद्ध आवाज उठाउने र आन्दोलन गर्नेमध्ये एक हुँ । अहिले पनि पार्टीबाट गुटबन्दीका जरा उखेलेर फ्याक्नुपर्ने आवश्यकता छ । यसका जरा छन्।

छलफल प्रक्रियाबाट बाहिर पार्न खोजेको भन्ने विषयमा गुनासो हो ?
कमिटीको बैठकहरूमा जहिले पनि निम्त्याइएको छु । तर कतियप विषयहरूमा सबै साथीहरूकोबीचमा यथोचित छलफल नभइरहेको हो कि भन्ने मलाई लागेको छ । यथोचित रूपमा छलफल गरेर सबै साथीहरूकोबीचमा निष्कर्ष निकालेर अघि बढ्ने प्रयासले मात्रै पार्टीलाई अग्रगतितिर लैजान्छ।

अध्यक्षको पार्टीका अन्य नेताहरू तपाईं र अन्य नेताहरूको संवादको अवस्था कस्तो छ ?
संवाद र छलफल भने हुने गरेको छ । भेटघाट पनि गर्छौं तर अनौपचारिक छलफल पनि गर्छौं।

निर्णयमा सहभागी गराइँदैन ?
आमरूपमा काम चलाउने गरी भइरहेको छ । तर पर्याप्त भने होइन।

नयाँ सरकार निर्माणमा पनि गराइएन नि?
स्थायी कमिटीकै बैठकले सबैसँग परामर्श गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने अधिकार अध्यक्षलाई दिएको हो । उहाँले त्यसैअनुसार गरिरहनुभएको छ । अन्य दलहरूसँग छलफल गर्दै हुनुहुन्छ । यसमा भन्नुपर्ने केही छैन।

तपाईंले सरकारको नेतृत्व गरिसक्नुभएको छ । अहिलेको सरकारका सम्भावना र चुनौती के देख्नुहुन्छ ?
नयाँ सरकारले निर्वाह गर्नुपर्ने भूमिका धेरै रहेको छ । सरकार बनाउँदा एमाले र माओवादीको मात्रै नभएर अन्य कतिपय दलहरूलाई समेटेर सरकार बनाउने प्रक्रिया अघि बढिरहेको छ । त्यसरी समेटेर लैजाँदा सरकार शक्तिशाली बन्छ । शक्तिशाली सरकारले मात्रै मुलुकको विकास निर्माण र रूपान्तरणको प्रक्रियालाई तीव्रता प्रदान गरेर अघि बढ्न सक्छ । पूर्वाधार कसरी निर्माण, गरिबी उन्मूलन, अन्य विषयमा प्रतिबद्धताहरू राखेका छौँ त्यसलाई कसरी पूरा गर्ने भन्ने विषय नै प्रमुख चुनौतीको विषय हो।

अपेक्षा पूरा गर्न नसक्दा के होला नि?
जनताले दिएको जिम्मेवारी पूरा गर्न सकेनाैँ भने दुर्भाग्यपूर्ण परिस्थिति हुन्छ । यसलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । जिम्मेवारी पूरा गर्न सकेनौँ, सरकार असफल भयो भने कम्युनिस्ट आन्दोलननै असफल हुने स्थिति हुन्छ।

२०४६ पछि दुईपटक बहुमत ल्याएर पनि केही गर्न नसकेको र पूरा अवधि चलाउन नसक्नुमा आन्तरिक कारण प्रमुख रूपमा देखिन्छ । आन्तरिक व्यवस्थापनको विषयले यो असफल हुने सम्भावना छ ?
२०४६ यताका अनुभवलाई अत्यन्त महत्वपूर्ण रूपमा लिनुपर्छ । कांग्रेसले पटक पटक बहुमत प्राप्त ग¥यो, तर त्यसले सदुपयोग गर्न सकेन । एकीकृत कम्युनिस्ट पार्टीले पहिलो पटक बहुमत प्राप्त गरेको छ । यो पहिलो अनुभव हो । विगतका अनुभवलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । सकिएन भने कांग्रेसले व्यहोरेको दुर्भाग्य हामीले पनि व्यहोर्नुपर्छ । त्यस्तो अवस्था नआओस् भनेर हामीले आन्तरिक समस्यालाई अन्त्यन्त गम्भीरतापूर्वक लिनुपर्छ र समस्या समाधानका लागि यथोचित ध्यान दिनुपर्छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच भइरहेको एकीकरणमा चुनौती के–के देख्नुहुन्छ ?
यति बेला हाम्रो पार्टीलाई सही ढंगले एकीकरण गर्ने चुनौती प्रमुख रूपमा रहेको छ । वैचारिक रूपान्तरण, संगठनात्मक रूपले सबैलाई एकताबद्ध पार्ने चुनौती रहेका छन् । यसलाई सामना गर्नका लागि दुईवटा कार्यदल बनाएका छौँ । दुवैले काम गर्दैछन् । संगठनात्मक रूपले एकीकरण गर्ने र कार्यदिशा, नीति र सिद्धान्त के हुन्, त्यसलाई प्रस्ट पार्ने प्रतिवेदन हामी तयार पार्दैछौँ । यी दुवै दस्तावेजले हामीभित्र रहेका सबै विचारको समाधान गर्छ । अहिले हामी विचारको विषयमा सामूहिक प्रयत्नमा छाैँ । सहमति हुन नसकेका विषय महाधिवेशनले छिनोफानो गर्छ ।

नवौँ महाधिवेशनको समयमा अमेरिका र चीन जस्तो नेपाली ड्रिम हुनुपर्छ भनेर विषय अघि सार्नुभएको थियो । त्यो अवधारणा कस्तो प्रकारको हो ?
नेपालको सन्दर्भमा ड्रिम क्रिएट गरेर नवौँ महाधिवेशनमा मैले नै प्रस्तुत गरेको छु । महाधिवेशनको दस्तावेजले के भन्छ भने नेपालमा कम्युनिस्ट आन्दोलन एक सय वर्ष पुग्दा नेपाली समाजलाई पनि समृद्ध समाजमा रूपान्तरण गर्नुपर्छ । कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पुग्दा बाँकी रहेको तीस वर्षमा नेपाललाई एउटा समृद्ध समाज बनाउनका लागि अघि बढ्नुपर्छ । त्यस दिशामा देशलाई लैजान यो एकीकरण एउटा महत्वपूर्ण कदमकारूपमा आएको छ । एकीकरणलाई सफलतापूर्वक अघि बढायौँ भने त्यसतर्फको कदम हुनेछ।

चिनियाँ कम्युनिस्ट पार्टीले एक सय वर्षमा विकसित समाजवादी देश बनाउने भनेर लक्ष्य राखेको जस्तो नेपाली ड्रिमको लक्ष्य चाहिँ के हो ?
नेपाली समाजको जुन प्रकारको भौतिक अवस्थिति छ । हामीले सबै प्रकारको कनेक्टिभिटीहरू निर्माण गरिसक्नुपर्छ । नेपालको समाजलाई विकास गर्ने प्रमुख आधार कृषिलाई आधुनिकीकरण गर्नुपर्छ । कम्तीमा पनि १५–२० हजार मेगावाट बिजुली निकाल्ने । त्यति गर्न सक्यौँ भने आधुनिकीकरणका लागि चाहिने इन्धन पर्याप्त हुन्छ, पर्यटन विकासका लागि आधारभूत संरचना निर्माण गर्न । देशलाई समग्रमा एउटा आधुनिक राज्यकारूपमा रूपान्तरण गर्ने योजना नै नेपाली ड्रिम हो । हामी गोर्खाली वा वीर भन्ने भावना छ, यो कुरा मर्न खोज्दै छ त्यसलाई हामीले जोगाउनुपर्छ । खासमा नेपाली वीर र दृढताको इतिहास बोकेको नेपाली सन्तति भनेर संसारसामु एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहेको छ भनेर सबैको सामु उजागर गर्ने आधार तयार पा¥यौँ भने हामी न्यूनतम ड्रिम पूरा हुन्छन् भन्ने लाग्छ । यो ड्रिम स्वतः समाजवाद उन्मुख हुन्छ । संविधानले पनि त्यही भन्छ । नेपालका सबै राजनीतिक दलहरूले संविधानकै परिपालना गरेर जाने हो । संविधानको मार्गदर्शनअनुसार नै जाने हो । नागरिक

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार