Bal-Umang

Bal-Umang

टीकापुर घटनामा दिवंगत प्रहरी निरीक्षककी पुत्रीको प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्री ज्यू,
नेपाल सरकार, मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

प्रधानमन्त्रीज्यू !

सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ। आज तपाई प्रधानमन्त्री भएको करिब एक महिनापछि हामी चार भाईबहिनी तपाईंलाई एउटा घटना स्मरण गराउन चाहन्छौँ। तपाईले पत्रपत्रिकाबाट पक्कै पनि खबर सुन्नुभएको हुनुपर्छ, २०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको हत्या भएको थियो। त्यही घटनामा एकजना डेढ वर्षे नाबालकले समेत अकाल ज्यान गुमाउनु प-यो। त्यहाँ हामीलार्इ संसार देखाउने, धेरै माया गर्नुहुने हाम्रा बाबा प्रहरी निरीक्षक बलराम विष्टको पनि हत्या गरिएको थियो, सोही घटनामा। हामीलाई राजनीति र यस्ता अरू कुराबारे केही थाहा थिएन पहिले, अहिले पनि त्यसबारे ज्यादातर चासो राख्दैनौँ। जब कर्तव्य पालनका सिलसिलामा आपराधिक समूहद्वारा प्रहरीको निर्मम हत्या गरियो, हाम्री आमाको सिन्दुर पुछियो र हामीलाई टुहुरा बनाइयो– हामी यति विक्षिप्त भयौँ कि कयौँ दिनसम्म हामीलार्इ केही थाहा भएन, के भइरहेको छ। भनौँ न हामी अँध्यारो सुरुङभित्र पसेझैँ भयौँ। केही पनि देखेनौँ अगाडिको बाटो।

निकैपछि मात्रै थाहा भयो– हाम्रा बुबालाई आन्दोलनकारीले हत्या गरेका रहेछन्, उहाँका सहकर्मीसँगै। देश र जनताको सुरक्षमा खटिएका प्रहरीलाई भाला बन्चरोले हानेर मारे त कतिलार्इ जिउँदै जलाइयो भनेर सुनेपछि उत्पन्न मुटुको जलन अहिलेसम्म सेलाएको छैन।

 टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेको व्यक्तिलाई जेलभित्रै शपथ खुवाउने सरकारको आश्वासन र अनसन टुटाउन गृहमन्त्रीज्यूले जुस पिलाउँदा हामी विष पिएर सरह प्रताडित छौँ। हामी निराश मात्र हैन प्रधानमन्त्रीज्यू, लज्जित पनि भएका छौँ। 

त्यतिबेला सरकार र सबै पक्षबाट धेरै सान्त्वना प्राप्त भयो। हामीलाई टुहुरा बनाउने अपराधीहरूलाई कारवाही हुने र उनीहरू जेल जानेपछि राहत मिलेको अनुभूत भएको थियो हामीलाई। त्यो अपराधमा संलग्नहरूको नाम समेत खुलेपछि र घटनामा संलग्न केही पक्राउ परेपछि हामीमा आशा अङ्कुरण भएकै हो– ढिलोचाँडो न्याय पाउँछौँ। पिताको आत्माले शान्ति पाउने भयो अब। तर हाम्रो आशा सत्य सावित कहाँ हुन्थ्यो र ! अभियुक्तहरूमध्ये धेरै जना पक्राउ नै परेनन। त्यसपछि बनेका सबै प्रधानमन्त्रीले उनीहरूलाई कारवाही गरेर न्याय दिलाउने आश्वासन त बाँडे तर अदालतको कठघरामा उभ्याउनुको सट्टा कसैले भारतमा लुकेर बसेका मुख्य अभियुक्तलाई नै सार्वजनिक स्थलमै भेटेर हाम्रो घाउमा नुनचूक दले।

हामीले समाचारमा सुनेका छौँ र छानबिन समितिले छानबिन गरे अनुसार हाम्रा पितालाइ मार्न मुख्य योजना बनाउने मध्येको प्रमुख मान्छेले तपाईंले जस्तै भोट पाएर चुनाव जितेको छ रे ! त्यसरी घरघर भोट माग्न जाँदापनि पुलिसले किन पक्राउ गरेन ? आज हामी यो मात्र हैन हामी धेरै प्रश्न गर्न चाहन्छौँ तपाईंलाई। अनि त्यसरी अभियुक्त मान्छेलार्इ बचाउन किन खोजिरहनुभएको छ ? उसलाइ पनि सरकारको मन्त्री बनाउन खोज्नुभएको हो कि ? अपराधीलाई सांसद्, प्रहरी बनाएर कस्तो सुशासनको वकालत गर्दै हुनुहुन्छ तपाईं ?

प्रधानमन्त्री ज्यू ! हामी हाम्रो पिता नभएको परिवारमा कसरी बसेका छौँ ? बुबा नहुँदा समाजले हामीलार्इ हेर्ने नजर कस्तो छ यो तपाईं सोच्न पनि सक्नुहुन्न। तपाईं या अरू कसैले पनि हाम्रा दिवंगत पिता फिर्ता ल्याइदिन त सक्नुहुन्न तर हामीलाई टुहुरो बनाउने ती अपराधीहरूलाई सजाय दिएर हामीलाई न्याय दिन त सक्न सक्नुहुन्छ नि।

हामी पिता गुमाएको पीडा त कसरी भुल्न सक्थ्यौं र तैपनि ती अपराधीहरूलाई सजाय भयो भने कम्तीमा न्याय मिलेको महसुस त हुनेथियो। र भोलि फेरि हामीजस्तै असहाय बालबालिकाहरूलाई कसैले टुहुरा बनाउने धृष्टता त गर्न सक्दैनथ्यो नि उसले। सरकारले हत्या–आरोपमा खोजी गरिरहेको मान्छेलाई राजनीतिको आवरणमा जोगाएर कसैले उसलाई जोगाउन चाहन्छ भने भगवानले उसलाई कहिल्यै माफ गर्ने छैनन्। अझै पनि न्यायको आशा छ। त्यो नरसंहारको एकजना मुख्य अभियुक्त अझै पनि पुर्पक्षका लागि थुनामा छ रे। कुनैपनि बाहनामा उसलाई उन्मुक्ति दिनु भनेको हामीलाई थप अन्याय गर्नु हो। यसरी पीडितको घाउमा नुनचुक लगाउनुले हामीले राज्यबाट के आशा गर्ने प्रधानमन्त्रीज्यू ?

सम्माननीय प्रधानमन्त्रीज्यू !

हाम्रा निर्दोष बुबाको छातीमा भाला र गोली प्रहार गर्ने÷गर्न लगाउने लाई कारवाही भएन भने पीडित परिवारमाथि घोर अन्याय हुनेछ। हामी न त आरामले सुत्न सक्ने छौँ न त मनमा शान्ति नै हुनेछ। न्याय पाइएन भने शायद टीकापुर घटनाको नियति दोहरिनेछ र हामी जस्तै अरूले पनि टुहुरो हुनु पर्नेछ।

टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेको व्यक्तिलाई जेलभित्रै शपथ खुवाउने सरकारको आश्वासन र अनसन टुटाउन गृहमन्त्रीज्यूले जुस पिलाउँदा हामी विष पिएर सरह प्रताडित छौँ। हामी निराश मात्र हैन प्रधानमन्त्रीज्यू, लज्जित पनि भएका छौँ। राज्यले हामी पीडितभन्दा बढी क्षतिपूर्ति पनि त्यही पीडकले पाएको छ भन्ने पनि शायद यहाँलाई अवगत नै छ होला। सान्तवना, संरक्षण, राज्यको स्नेह पनि पीडकले पीडितभन्दा बढी पाएको छ।

यहि थिति बसाल्ने हो र यसैका लागि तपाईंको आफ्नो पनि आजन्म संघर्ष थियो भने हामी असहायको भन्नु केही छैन। अहिले अपराधीका गोहीका आँसु र उसको राजनीतिको पाखण्डले तपाईं गल्नुहुन्छ भने तपाईंको अभिवावकत्वमा रहेको राज्यले के अनभूति गर्ने ? अपराधीहरुले हामीबाट हाम्रा बुवा गुमाएको लामो समय भइसक्दा पनि चौबिसै घण्टा आँसु बगाइरहेका छौँ, हामीले के आशा गर्ने ? हाम्रो आँसुको पनि मूल्य छ र निष्ठा–नैनिकताको पनि स्थान हुन्छ भने तुरुन्तै टीकापुर घटनाको योजना बुन्ने र हाम्रा पिताको विभत्स हत्या गर्नेलाई आजन्म कारावासको सजाय होस्।

प्रधानमन्त्री ज्यू यो पत्र तपाईसम्म त पुग्छ पुग्दैन थाहा छैन्। हामी राजनीति र समाचार जान्ने÷बुझ्ने अवस्थाका पनि छैनौँ। यी शब्दहरु हाम्रा आँसु आशा दुवै हुन्। सम्माननीयज्यूलाई हामी धन्यवाद भनेर यसरी नै पत्र लेख्नेछौँ, जुन दिन हामी न्याय पाएको अनुभुति गर्नेछौँ। धन्यवाद।

स्वर्गीय पिताको स्मृति र न्यायको आशमा रहेकी छोरी वसन्ती विष्ट।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार