मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आशंकामा विप्लवको ३ जना कार्यकर्ता पक्राउ

कैलाली, फागुन २९ -कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरले बताएका छन् । प्रहरीले सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए ।
घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटनालगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले आफूलाई गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताएका छन् ।

३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको बुझिएको उनले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार