अजम्बरलाई जिताउन उपेन्द्र सुब्बा र म भोट माग्न हिड्दैछौ : राजन मुकारुङ

सार्वजनिक :विजय चाम्लिङ,  763 पटक हेरिएको

कवि तथा साहित्यकार राजन मुकारुङले मंगलबार (कात्तिक ७ गते) दिउसो आफ्नाे फेसबुक वालमा एउटा स्टाटस पोस्ट गरे । उक्त स्टाटबाट उनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचनमा भोजपुर प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष उम्मेदवार बनेका चर्चित युवा नेता अजम्बर राई काङमाङको पक्षमा भोट माग्ने घोषणा समेत गरे ।
आफूमात्रै नभएर कवि उपेन्द्र सुब्बालाई समेत साथमा लिएर उनले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर राईको पक्षमा भोजपुर गएर भोट माग्ने उल्लेख गरे ।

मुकारुङले यस्तो स्टाटस लेखेपछि हामीले मंगलबार राति करिब साढे १० बजे उनलाई फोन गर्यौ र फोनमै यस विषयमा छोटो कुराकानी पनि गर्यौ । प्रस्तुुत छ, मुकारुङसँग गरिएको कुराकानी, जस्ताको तस्तैः

 

दाई नमस्ते । सन्चै हुनुहुन्छ ?
हिजोसम्म त औषधि खाँदै थिएँ । आजदेखि चाहिँ अलिक तंग्रिएर बाहिर निस्केको, उपेन्द्र सुब्बासँग भृकुटीमण्डपमा भेट भयो । र यसपालि चाहिँ चुनावी अभियान गरौ भनेर सल्लाह गर्यौ ।

अजम्बर राईको लागि भोट माग्ने सल्लाह भएको हो ?
हो, उपेन्द्र सुब्बा र म मात्रै हैन, हामी १०, १२ जनाको एउटा टोली नै बनाएर भोट माग्न हिड्छौ ।

कहिलेबाट हिड्नुहुन्छ ?
उपेन्द्रजीको चाहिँ कतारमा प्रोग्राम छ । १०, १२ दिन लाग्छ उहाँलाई । म त लगभग ४, ५ दिनपछि हिडिहाल्छु ।

तपाईहरु किन अजम्बर राईलाई जिताउन चाहनुहुन्छ ?
पहिलो कुरो त उहाँ सानो उमेरदेखि नै वर्गीय रुपमा कम्युनिष्ट पार्टीको सिद्धान्त, आदर्श र चिन्तनसँग संगठित हुँदै आउनुभएको र त्यो स्कुलिङमा हुर्किनुभएको मान्छे हो ।

हामीले संसारलाई दुईवटा फ्याक्सनमा हेर्छाै। एउटा चाहिँ माक्सवादी विचारधाराबाट हेर्छौ । उहाँ माक्सवादी विचारधारामै हुर्किनुभएको व्यक्ति हो ।

उहाँ कम्युनिष्ट पार्टीको युवा संगठनको राष्ट्रिय अध्यक्ष र नेतृत्व निर्वाह गरिसक्नुभएको मान्छे हो । र त्यो सबै अनुभवहरु हुँदाहुँदै पनि उहाँले पार्टी छोड्नुभयो ।
तर, उहाँले पार्टी छोड्नुपर्ने स्थिति किन भयो भने नेपालको सामाजिक सन्दर्भ, सांस्कृतिक सन्दर्भ, ऐतिहासिक सन्दर्भ चाहिँ फरक थियो । जसरी हिजो कम्युनिष्टको नाममा एउटा खालको पाठ पढाइयो, उहाँले त्यो बुझ्नुभयाे र पार्टी छोड्नुभयो ।

नेपालको अहिलेको प्रमुख समस्या भनेको पहिचानको समस्या हो । यहाँ हरेक मान्छेहरु, उत्पीडनमा परेकाे मान्छेहरुको समस्या पहिचान हो भन्ने बोध भइसकेपछि उहाँ जसरी पहिचानकाे आन्दोलनमा लाग्नुभयो, त्यो आन्दोलनमा त हामी पनि लागिरहेकै हो, साहित्यको माध्यमबाट । आज (कात्तिक ७ गते) यही विषयमा उपेन्द्र सुब्बासँग गम्भीर गफ भएको हो ।

त्यसो भए अब उपेन्द्र सुब्बा पनि हिड्नुहुन्छ ?
किन नहिड्नु ? उहाँले नै मलाई के भन्नुभयो भने तपाई स्टाटस लेख्नुहोस, अजम्बर दाईको लागि जसरी पनि म भोजपुर जान्छु भन्नुभएको हो ।
अनि हामीले टाइम हेर्यौ । उहाँको कतारबाट फर्कने टाइम हेर्यौ । सबै टाइम नभ्याइने भएकाले उहाँ आइपुग्ने टाइम हेर्दा टुँडिखेल र अन्नपूर्णको कार्यक्रममा चाहि पुग्न सकिने रहेछ ।
मंसिर ५ गते भनेको लास्टको टाइम त हो । १० गते त चुनाव नै छ । अनि ५ गतेको कार्यक्रमपछि उहाँ पाँथचर जानुहुन्छ चुनावमा भोट हाल्न ।

१० गतेको चुनाव सकिएपछि २१ को चुनावको लागि जहाँजहाँ दोस्रो चरणको चुनाव हुन्छ त्यहाँत्यहाँ जाने हाम्रो योजना छ ।
त्यसका लागि हामीले अहिले टिम बनाइरहेका छौं । फाइनल भइसकेको छैन । तर उपेन्द्र सुब्बा भोजपुरको दुईवटा कार्यक्रममा जाने कुरा चाहिँ कन्फम हाे ।

तपाई एक पटक संघीय समाजवादी पार्टीमा लाग्नुभएको थियो, बिचमा निश्क्रिय रहनुभयो । अब फेरि पार्टीमा आबद्ध हुनुहुन्छ ?
आबद्धभन्दा पनि हाम्रो पहिचानको मुद्दा कसले बोक्छ भन्नेसँग मात्रै सरोकार रहन्छ । वास्तवमा हाम्रो अभियानसँग जोडिएको छ ।

माओवादी केन्द्रलाई कसरी हेर्नुहुन्छ ? उसले पहिचानको मुद्दा छोडेकै हो ?
हो, उसले अब पहिचानको मुद्दा छोडिसकेको छ ।
मेरो दृष्टिकोणमा दुईवटा कुरा छ । एउटा कुरा चाहिँ हामीले एमालेलाई हिजो जसरी गाली गर्यौ र एमालेले हामीमाथि जसरी व्यवहार गर्यो, त्यो पूर्णरुपमा हामीमाथि अन्याय भएकै हो ।

मधेसमा एकजना मान्छे राज्यको तर्फबाट गोली लागेर मर्दा आप झरेको, पात झरेको भन्ने त्यही पार्टीका नेताहरु हुन् । हो कि हैन ? भनेकै हो नि ।

पार्टीभित्र एउटा जनजातिले विद्रोह गर्दा हातीको रौंबाट एउटा भुत्ला झर्याे भन्ने त्यही पार्टी हो । अशोक राईले पार्टी छोडेर के भो त ? पिपलको रुखबाट एउटा पात झर्याे भन्ने त्यही पार्टीको मान्छेहरु हुन् ।

अब कम्तिमा माओवादीले त्यत्रो जनविद्रोह गरेर नेपालकाे राजीतिक इतिहासमा २०५८ सालदेखि जातीय मुक्ति मोर्चा निर्माण नगरीकन र त्यसलाई सशक्त नबनाइकन हाम्रो क्रान्ति र जनविद्रोह सफल नहुने रहेछ भनेर उसले जातीय मोर्चाहरु बनायो ।
त्यसपछि जनयुद्धले उभार ल्यायो । उभार ल्याइसकेपछि जब २०६४ सालको संविधानसभाको चुनावमा माओवादी लार्जेस्ट पार्टी पनि भयो । र उसैको कारणले गर्दा संविधानसभाभित्र आदिवासी जनजाति र उत्पीडितहरुको साथ हुँदाहुँदै पनि उसले संविधानसभा नै विघटन गरेको इतिहास पनि छ नि ।

 

पहिचान पक्षधर हुँ भन्दै आएको माओवादीले अहिले एमालेसँग गठबन्धन गरेकाे छ र पार्टी एकता समेत गर्ने निर्णय गरेको छ, यसलाई कसरी लिनुहुन्छ ?
मैले एउटा कुरा पहिलादेखि नै भन्दै आएको छु । म धेरै कम्युनिष्ट बुद्धिजीवीहरुसँग बसेको छुु । उहाँहरुसँग धेरैवटा छलफल गरेको छु ।
बाम गठबन्धनको सन्दर्भमा मैले भनेको छु कि बाम गठबन्धनले कम्तिमा हाम्रो मुद्दा कसरी बोक्छ ?

जस्तो म त पहिचानकै मुद्दा उठाएर आएको साहित्यकार हुँ । मेरो कसैसँग लिनुदिनु छैन । मेरो तर्क के छ भने ‘ल ठीक छ म तपाईहरुको पनि समर्थक भए, कार्यकर्ता पनि होऔला । कुनै दिन थिएँ फेरि पनि हुन्छु केही छैन । तर अब हाम्रो मुद्दा कहाँनिर सम्बोधन गर्न सक्नुहुन्छ त ? आधार कहाँ छ तपाईहरुको ? आधार नै देख्दिनँ ।

जुन पार्टीसँग तपाईहरु गठबन्धन बनाएर जानुहुँदैछ, भोलि एकता गर्दैहुनुहुन्छ, तपाईहरुले छोड्नुपर्ने मुद्दाहरु सायद त्यही होला, दलितको सन्दर्भमा होला, महिलाको सन्दर्भमा होला, जनजातिको सन्दर्भमा होला । के गर्नुहुन्छ ? त्यतिबेला मैले कसरी तपाईहरुको समर्थन गर्ने ? त्यो त हुँदैहुँदैन भनेको छु ।

तर फेरि म लोकतान्त्रिक गठबन्धन भनेर कांग्रेसको समर्थनमा पनि हिड्दिनँ । म आफ्नाे पहिचान आफै स्थापित गरौ भन्ने पक्षमा छु र हामीले चुनावमा यही अभियानका साथ हिड्ने तयारी गरेका छौं ।

चुनावी अभियानमा भाषण गर्नुुहुन्छ कि आफ्ना कविता सुनाउनुहुन्छ त ?
म त भाषण गर्छु (हास्दै) । किनभने त्यसले कम्तिमा हाम्रो लडाइँ लड्ने मान्छेहरुलाई मद्दत पुगोस भन्ने हो ।  उत्पीडनमा परेका, सीमान्तमा पारिएका मानिसहरु जसले न्याय पाएका छैनन्, तीनका कुरा सुनुवाइ होस र सुनुवाइ गर्ने मान्छेहरुले जितोस भन्ने हाम्रो चाहना हाे । त्यस्ता मान्छेहरूलाई हामीले चिनेका छौ र हामी उनीहरुलाई सपोर्ट गर्दै जानेछौ ।

प्रस्तुतीः विजय चाम्लिङ

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार