महानगर प्रमुख विद्यासुन्दरको यस्तो छ भित्रि धन्दा– र त काठमाडौं बेहाल छ

काठमाडौं । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य निर्वाचित भएलगत्तै महानगरवासीले धेरै राम्रा कामको आश गरेका छन् । अब काठमाडौं महानगरपालिकाको मुहार फेरिन्छ, काठमाडौं महानगरबासीले सुख पाउँलान् तर खै, झण्डै एक वर्षको अवस्था हेर्दा जनअपेक्षा उल्टो पो हुने हो कि भन्ने आशंका ब्यक्त गर्न थालिएको छ ।

प्रमुख विद्यासुन्दर शाक्य समग्र काठमाडौं महानगरपालिकाको विकासभन्दा पनि महानगरभित्रको कर्मचारीतन्त्रको जालोमा बेरिएको गुनासो सुनिन्छ । आफैले गरेको निर्णयलाई कार्यान्वयन गराउन नसक्ने प्रमुखले अरु नयाँ र जनहितमा के काम मार्लान् भन्ने उठ्न थालेको छ ।

विद्या सुन्दर शाक्य प्रमुख भएर आएको केही महिना पछि गरिएको कर्मचारी सरुवामा नै उनी चुकेका थिए । सोर्सफोर्स नभएका, निमुखा र नियमसंगत काम गर्ने कर्मचारीहरूलाई जबर्जस्ती सरुवा हुन बाध्य बनाएका थिए भने अटेरी, कामचोर, भ्रष्ट भनिएका कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउनुको सट्टा झन् प्रोत्साहन गरेपछि अहिले एमाले निकट कर्मचारी शाक्यदेखि दिक्क बनेको कर्मचारी स्रोत बताउछ ।

काठमाडौं महानगरपालिकामा ब्यक्तिगत स्वार्थमा लिप्त हुने, बद्नाम डन कर्मचारीका रुपमा चिनिएका ज्ञानेन्द्र कार्कीलाई शाक्यले न त सुधार्न सकेका छन् न त छाड्न नै सकेका छन् । त्यस्तै रानीपोखरी पुनर्निर्माण कार्यमा गलत सल्लाह दिएर महानगरपालिकालाई पाँच करोड घाटा पु¥याएर ठेकेदारहरूसंग मिलेमतो गरेर रकम कुम्ल्याउने आरोप लागेका डा.उत्तरकुमार रेग्मीलाई पनि मेयरले तह लगाउन  सकेका छैनन् ।

त्यस्तै रुद्रसिंह तामाङ्ग कार्यकारी प्रमुख हुँदा उनकै निर्देशनमा जिन्सी शाखामा बसेर ब्रम्हलुट मच्चाउन सफल रहेको आरोप खेपेका सुमन अधिकारीलाई त मेयर शाक्यले झन् पुरस्कृत नै गरेको महानगर कर्मचारी स्रोत बताउछ । पुरस्कार पनि निकै गहकिलो पुरस्कार दिएको चर्चा छ ।

स्याङ्जाका हरूवा नेता गोपालमान श्रेष्ठको दाहिने मानिएका सुमन अधिकारीको महानगरभित्र गरेका अनेक कर्तुत प्रमुख शाक्यलाई पूर्णरुपमा जानकारी भएपनि तिनैलाई च्यापेको आरोप लागेको छ । त्यही कारणले उनले कर्मचारी सरुवा गर्ने क्रममा सुमनलाई वडा नं १४ को प्रशासकीय प्रमुखका रुपमा सरुवा गरे । तर सुमन अधिकारीले प्रमुखको सरुवालाई अटेर गरी घर विदामा बसे । शाक्यले सरुवा गरेका सवै कर्मचारी आआफ्नो ठाउँमा खटिएपनि सुमन अधिकारी भने सरुवा गरिएको ठाउँमा नजाने भन्दै लामो समयदेखि घर विदामा बसि नै रहे ।

घर विदामा बस्नेका लागि सल्लाह दिने प्रशासन विभागका ज्ञानेन्द्र कार्की र अधिकारीको साँठगाँठकै कारण महानगरपालिकाको सरुवामा अटेर गर्ने एक मात्र कर्मचारी अधिकारी बनेको स्रोत बताउछ । तर त्यस्ता अटेरी कर्मचारीलाई जवर्जस्तरुपमा सरुवा गर्नुपर्ने अवस्थामा विद्या सुन्दर शाक्यले आफ्नो निर्णयलाई उल्टाउँदै कार्कीकै सल्लाहमा सरुवा भएको नं १४ वडामा पाइला समेत नहालेका सुमन अधिकारीलाई राजश्व विभागमा हाजिर गर्न लगाएको खबर छ ।

महानगरपालिका स्रोतका अनुसार, सुमन अधिकारीले अहिले राजश्व विभागमा महाशाखा प्रमुखका रुपमा हाजिर गरिसकेका छन् । प्रमुख शाक्यले प्रशासन विभाग हाँकिरहेका ज्ञानेन्द्र कार्कीलाई एकचरण विदेश भ्रमण पठाएर राजश्व विभागको विभागीय प्रमुख बनाउन लागिरहेको बताइएको छ ।
यस अघि  जिन्सी शाखामा रहँदा सुमन अधिकारी र ज्ञानेन्द्र कार्कीले महानगरमा मच्चाएको लुटलाई प्रमुख शाक्यले आँखा चिम्म गरेर बसेपछि प्रशासकीय प्रमुख धनिराम शर्मा मेयर सापको निर्देशन मान्नै प¥यो भन्दै पुपुरोमा हात राखेर बसेका छन् ।

काठमाडौं महानगरपालिकामा आउनु अघि आन्तरिक राजश्व विभागको उपमहानिर्देशकका रुपमा रहेका धनिरामले ज्ञानेन्द्र कार्कीलाई राजश्व विभागको विभागीय प्रमुख र सुमन अधिकारीलाई महाशाखा प्रमुख बनाउन हुन्न भन्ने सल्लाह दिएपनि सो सल्लाह शाक्यले मानेको चर्चा छ  ।  ‘स्थानीय तहको निर्वाचनका समयमा रु. ४० लाख रुपैयाँ निर्वाचन खर्च दिएको छु कसरी मलाई हटाउन सक्छन् प्रमुखले,’ भन्दै कार्कीले खुलेआम बार्गेनिङ्ग गर्दै हिंड्न थालेको चर्चा छ ।

महानगरको राजश्व विभागमा अधिकारीलाई सरुवा गराएर गैरकानूनीरुपमा होडिङ्ग बोर्डलगायतका विज्ञापन करबाट रकम असुल्ने प्रयोजनका लागि कार्की पनि राजश्व विभागका सरुवा हुन चाहेको चर्चा हुने गरेको साँधुले समाचार लेखेको छ । महानगर प्रमुखको जनसम्पर्क सल्लाहकारकारुपमा रहेका पत्रकार राजेन्द्र स्थापित समेत शाक्यको काम देखेर दिक्क मान्न थालेको एमाले स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार