Bal-Umang

Bal-Umang

राजपामा मच्चियो रडाको, विवाद चुलिएपछि ६ जना अध्यक्ष ६ तिर

काठमाडौं । ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) भित्र फेरि विवाद चुलिएको छ । विवाद यतिसम्म बढेको छ कि पार्टीका ६ जना अध्यक्षबीच भेटघाट समेत हुन छाडेको छ ।

सरकार गठनलगायतका विषयमा छलफल गर्न माघ २७ गते पार्टी कार्यालय बबरमहलमा राजपाको बैठक बसेको थियो । त्यसयता भने कुनै बैठक बस्न नसकेको हो ।

राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने विषयमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यबीच चर्को मतभेद भएको थियो । त्यसले गर्दा उनीहरुको बीचमा मनमुटाव छँदै थियो, पछि प्रदेश सरकार गठन हुँदा झनै दुरी बढ्यो ।

अहिले राजपा नेपालका ६ जना अध्यक्ष ६ तिर छन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर धनुषाको महेन्द्रनगरस्थित सम्धीको घरमा बसेका छन् भने महेन्द्र राय यादव आफ्नो चुनावी क्षेत्र सर्लाहीमा छन् ।

त्यस्तै, अनिल कुमार झा रौतहटमा छन् भने राजकिशोर यादव हिजो मात्र सिरहा गएका छन् । शरतसिंह भण्डारी पनि हिजो महोत्तरी गएका छन् । राजेन्द्र महतो पनि जनकपुरमा छन् ।

६ जना नेता ६ तिर भएका कारण उनीहरुको बीचमा कुनै छलफल हुन सकेको छैन । वाम गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपाललाई सरकारमा सहभागि हुनका लागि आग्रह गरेका छन् । तर, राजपाले कुनै जवाफ नपठाएको नेताहरुले बताएका छन् ।

उता, प्रदेश २ मा सरकारले अझै पूर्णता पाएको छैन । फोरम नेपालको भागमा परेको मन्त्रीको नाम तय भइसक्दा राजपाले भने टुंगो लगाउन नसकेको हो । राजपा नेपालले पाएको तीन मन्त्रालयमध्ये जीतेन्द्र सोनल मात्र मन्त्री बनेका छन् । बाँकी दुईटा मन्त्रालयमा कसलाई पठाउने भन्नेमा राजपाले नाम तय गर्न सकिरहेको छैन ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले नेताहरु आफ्नो क्षेत्रमा जनताको काममा लागेकाले बैठक नबसेको दाबी गर्दै आवश्यक परे केहि घण्टामै निर्णय गर्न सकिने प्रतिक्रिया दिए ।

उनले पार्टीमा कुनै प्रकारको असन्तुष्टि समेत नरहेको दाबी पनि गरे ।

उनले भने, ‘राजपा नेपाल गठन भएको एक वर्ष पनि पुगेको छैन । छ दल मिलेर बनेको पार्टी हो, कुनै पनि विषयमा फरक फरक कुरा आउनु स्वभाविक हो, त्यसमा छलफल हुन्छ, समाधान गरिन्छ ।’

फागुन ३ गते फोरम नेपालका तर्फबाट लालबाबु राउतले मुख्यमन्त्रीको सपथ लिँदा राजपा नेपालका महामन्त्री तथा संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनलले पनि मन्त्री पदमा सपथ लिएका थिए ।

तर, सोनललाई मन्त्रीमा पठाएकोमा राजपा नेपालबीच असन्तुष्टि बढेको बताइन्छ । पार्टीभित्र सल्लाहै नगरिकन संयोजक ठाकुरले सोनललाई मन्त्रीमा पठाएको भन्दै नेताहरु बीच असन्तुष्टि बढेको बुझिएको छ ।

राजपा अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारीले संसदीय दलका नेतालाई मन्त्री नबनाउने निर्णय नभएपनि संसदीय दलको नेता भएपछि उसैको नेतृत्वमा सरकार बन्ने वा सरकारमा जाने विगतमा हुने गरेको र अहिले पनि त्यही भएको प्रतिक्रिया दिए ।

फागुन ११ गते प्रदेश सरकारका मन्त्रीहरुको सपथ गराउने कार्यक्रम छ । तर कुरा नमिलेकाले त्यो दिन पनि सपथ हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको राजपा नेपालका एक नेताले बताए । यसअघि फागुन ६ गते नै सपथ खुवाउने कार्यक्रम थियो । तर राजपा नेपालले मन्त्रीको नाम टुगों नलगाएका कारण सपथ रोकिएको थियो । स्रोत : रातोपाटी

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार