व्यक्तिगत आकांक्षा स्वभाविक हो, तर फोरम नेपालको नेतृत्वमा सरकार गठन गर्न राजपा सहमत छ– उपेन्द्र यादव

 1213 पटक हेरिएको

काठमाडौं २४, माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाबीच भएको पूर्वसहमति अनुसार नै मुख्यमन्त्री चयन हुने बताएका छन् । मधेश गठबन्धन बन्नुअघि नै जसको बहुमत आउँछ उसैको नेतृत्वमा मुख्यमन्त्री र प्रदेश सरकार गठन हुने सहमति भइसकेको उनले खुलाए ।

निर्वाचनअघि बढी सिट जित्ने पार्टीले मुख्यमन्त्री लिने र सरकार गठनमा सहकार्य गर्ने सहमति भएको भन्दै अध्यक्ष यादवले सोही सहमति अनुसार दुबै दल अघि बढ्ने स्पष्ट पारे ।

राष्ट्रिय जनता पार्टीसँगको प्रारम्भिक छलफल सकारात्मक दिशामा अघि बढेको भन्दै उनले केही दिनभित्रै पदीय भागबण्डाको खाका आउने उल्लेख गरे ।

अध्यक्ष यादवले स्वभाविक रुपमा मुख्य मन्त्री आफ्नो पार्टीले पाउने र अन्य पद बिभाजनबारे छलफल भइरहेको उल्लेख गर्नुभयो । यादवले भने– व्यक्तिगत हिसाबमा राजपाका नेताहरुले मुख्य मन्त्रीको दाबी गरेका होलान, पार्टीबाट कुनै त्यस्तो दाबी छैन ।

उहाँले चर्चामा आएको आलोपालो नेतृत्व प्रणालीलाई आफ्नो पार्टीले पूर्णत अस्वीकार गरेको समेत बताए । केन्द्रीय राजनीतिमा आएको यस्तो विकृित प्रदेशमा नभित्र्याउने यादवको जिकिर थियो ।

केन्द्रीय सरकारमा सहभागीताको बिषय छलफलमै रहेको भन्दै उनले सत्ता नेतृत्वकर्ता दलको आचरणमा भर पर्ने स्पष्ट पारे । यसैबीच प्रदेश सरकार गठनका लागि संघीय समाजवादी फोरम र राजपाले आन्तरिक छलफल गर्ने भएका छन् ।

हिजो प्रारम्भिक छलफल भएपनि सहमति हुन नसकेपछि दुबै पार्टीले आन्तरिक छलफल पछि संयुक्त बैठक बस्ने जनाएका हुन् । अब बस्ने संयुक्त बैठकमा प्याकेजमै सहमतिको प्रयास गर्ने गरी छलफल हुने नेताहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार