Bal-Umang

Bal-Umang

प्रधानमन्त्री र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच वार्ता, शीतलहर प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन अनुरोध

राजनीति गतिरोध अन्त्य गरी नयाँ सरकार गठनको बाटो खोल्न देउवालाई यादवको सुझाव

 1684 पटक हेरिएको

काठमाडौं २४, पुस । प्रधानमन्त्री शेर बहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । शीतलहर प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने लगायत समसामयिक राजनीतिक विषयमा दुई पक्षबीच वार्ता भयो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज साँझ भएको द्धयपक्षीय वार्तामा फोरम नेपालका अध्यक्ष यादवले शीतलहर प्रभावित मधेशका जिल्लाहरुमा तत्काल राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।

सप्तरीको क्षेत्र २ बाट निर्वाचित सांसद समेत रहेका अध्यक्ष यादवले प्रधानमन्त्रीसँगको वार्तामा शीतलहर प्रभावित क्षेत्रका जनतालाई न्यानो लत्ता कपडा, आगो बाल्ने दाउरा, औषधिउपचार लगायत राहतका सामाग्रीहरु तत्काल पुर्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण र उद्दार कार्यमा जुट्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

राजविराजमा हुलाकी राजमार्गको डाइभर्सन
तराई मधेशको बहुप्रतिक्षित र महत्वाकांक्षी परियोजना हुलाकी सडकले सप्तरीको सदरमुकाम राजविराजको बीचबाट निकिस्ने भएकोले त्यसलाई शहरको छेउबाट निर्माण गर्न फोरम नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

राजविराजको बीचबाट सडक बने शहरको संरचना बिग्रिने भएकोले शहरलाई बचाउन राजविराजको छेऊबाट बाइपास सडक निर्माण गर्न यादवले आग्रह गरेका हुन् । उता प्रधानमन्त्री देउवाले राजविराज शहरलाई जोगाउने गरी आगामी मन्त्रिपरिषद्को बैठकबाट हुलाकी सडकबारे निर्णय गरिने आश्वासन दिएका छन् ।

गतिरोध अन्त्य गरी नयाँ सरकार गठनको बाटो खोल्न यादवको सुझाव
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार र प्रदेश सभा गठन लगायतका विषयमा अहिले देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । मुलुकलाई यथाशीर्घ निकास दिनेगरी पहल थाल्न देउवालाई सुझाव दिएको अध्यक्ष यादवले बताए ।

राजनीतिक गतिरोधले गर्दा नयाँ सरकार गठन, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश सभाको गठन र समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको चयन लगायतमा ढिलाई भएकोले मुलुकलाई चाडै निकास दिन प्रधानमन्त्रीलाई सुझाव दिएको यादवले जानकारी दिए ।

भेटवार्तामा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महेश आचार्य सहभागी थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार