Bal-Umang

Bal-Umang

साढे १० वर्ष जेल बसी छुटेका गुण्डा नाइके लिम्बूको यस्तो छ अपराध शृंखला, दुवै खुट्टामा गोली लागेपछि उपचार हुँदै

काठमाडौँ । काठमाडौं उपत्यकामा २०६० सालदेखि ०६२ सालको अवधिमा एउटा डाँकाको दवदवा थियो । दुई वर्षको अवधिमा २२ वटा बैंक फाइनान्स, मनि चेन्जर र आईएमई एउटै व्यक्तिबाट लुटिएपछि प्रहरी हैरान भएको थियो ।

निकै मेहनत गरेर ती लुटेराको खोजी गर्दै जाँदा खुङ्खार डाँका राजन लिम्बुप्रहरीको पञ्जामा परेका थिए। तिनै लिम्बु हुन्, जसको काठमाडौंको रातोपुल र कालोपुलको बीचमा रहेको धोविखोला करिडोरमा उनीमाथी प्रहरीले गोली प्रहार गरेको छ ।

डकैतीमा संलग्न हुँदै आएका राजन लिम्बू काठमाडौंमा रहेको सुइँको पाएपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोली शुक्रबार दिउँसो रातोपुल एरिया पुग्यो।

त्यसअघि विभिन्न अपराधकर्ममा मुछिएका लिम्बुलाई पक्राउ गर्न जब प्रहरी टोली अघि बढ्यो, उनले उल्टै पेस्तोल तेर्स्याए। प्रतिकारमा प्रहरीले नियन्त्रणमा लिन उनीमाथि गोली चलायो। खुट्टामा गोली लागेका उनी घाइते भए। प्रहरीको पञ्जाबाट उनी उम्कन सकेनन्। उनले पनि प्रहरीतिर एक राउन्ड गोली प्रहार गरेका थिए। प्रहरीसँगको मुठभेडमा घाइते भएका राजन लिम्बु उपचाररत अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा हुँदैछ।

७ महिनाअघि मात्रै राजन लिम्बु झुम्का कारागारबाट छुटेको हो,’ ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिव श्रेष्ठ भन्छन्, ‘मंसिर १२ गते ईटहरीको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक सविन दाहाललाई छुरा हानेर ३ लाख लुटेर भागेपछि हामी उनलाई खोजिरहेका थियौं ।’

इटहरीको एक्टिभ मनि ट्रान्सफर लुटेर भागेपछि इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश–१ प्रहरीको पत्रअनुसार अपराध महाशाखाले पनि लिम्बुको खोजी तिब्र बनाएको थियो ।

तीन दिनदेखी राजनको पिच्छा गरिरहेको प्रहरीलाई अर्को सुचना आउँछ, ‘राजन लिम्बु भन्नेले कपन र जोरपाटी क्षेत्रमा अर्को वित्तिय संस्था लुट्ने योजना बनाईरहेको छ ।’

अर्को लुटपाटको सूचना पाएसँगै लिम्बुको खोजी तिब्र बनाएको महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोलीसँग शुक्रवार मध्यान्ह रातोपुलबाट करिब १ सय मिटरभित्र धोविखोला करिडोरमा राजनको जम्काभेट भयो । हुलिया मिलेपछि उनलाई नियन्त्रणमा लिन खोज्दा उल्टै पेस्तोल निकालेपछि प्रहरीले जवाफी फायरिङ गर्दा राजन घाईते भएका छन् । उनको दुवै खुट्टाको तिघ्रामा गोली लागेको छ ।

प्रहरीले उनको साथबाट एउटा पेस्तोल र ४ राउन्ड गोलीसमेत बरामद गरेको छ।
पक्राउ परेका लिम्बू डाका मुद्दामा साढे १० वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। पटकपटक डकैती गर्दै फरार लिम्बू काठमाडौं उपत्यकामा सुनचाँदी पसल, आइएमई लुटपाटका २३ वटा घटना र भक्तपुर दत्तात्रय बस्ने माधव नेपालीको हत्यामा संलग्न भएको आरोपमा दोषी ठहर भएर ६ वर्ष जेल बसेका थिए।

६ वर्षको जेलबाट छुटेका लिम्बूको बानी सुध्रनुको साटो झनै आपराधिक बन्दै गयो। लगत्तै उनी डाका गरेको आरोपमा रामेछापमा पक्राउ परेर २ वर्ष जेल बसेका थिए।

त्यसपछि उनले आफ्नो डकैती इलाका परिवर्तन गर्न पूर्वी तराईका जिल्लामा आतंक फैलाउन थालेका थिए।

सुनसरीकै स्थानीय समेत रहेका लिम्बू त्यहाँका ५ वटा आइएमई लुटपाटमा पक्राउ परेका थिए। त्यसबेला झुम्का कारागारमा साढे २ वर्ष जेल जीवन बिताएर छुटेका थिए।

आधा दर्जन घटनामा मोस्ट वाण्टेड

महानगरीय अपराध महाशाखका अनुसार राजन आधा दर्जन घटनामा प्रहरीको मोस्ट वाण्टेड सूचिमा थिए । के–के हुन् ति ६ घटना?

घटना नम्बर १

२०६२ कात्तिक २ गते काठमााडौं प्रहरीमा मुद्दा दर्ता भएर डाँका मुद्दामा फरार । प्रतिवादी थमन गुरुङ समेतका ६ जनाले हातहतियारसहित सन्तोष लिम्बुलाई नियन्त्रणमा लिएर नगद तथा जिन्सी सामान डाँका गरी लगेको ।

घटना नम्बर २

२०७३ फागनु १५ गते को।२८प ४४४ नम्बरको बुलेट मोटरसाईकल चढी आएका पूर्णबहादुर लुङ्गेली मगर समेतका मानिसहरुलाई राजनले जीवन विकास लगु विद्युत्त संस्थाका कर्मचारीहरुलाई पेस्तोल देखाई घर्रामा भएको १० हजार र सोही संस्थामा कारोवार गर्न आएका बिरबहादुर प्रधानको साथमा रहेको नगद रु ९० हजार समेत लिई फरार भएको ।

घटना नम्बर ३

२०६३ साउन ३० गते काठमाडौंमा रविन राईलाई गेष्ट हाउसबाट हतियार देखाई ८६ हजार बराबारको धनमाल डाँका गरी लगेको ।

घटना नम्बर ४

२०६३ असोज २१ गते, राजन लिम्बु समेतको समूहले गेष्ट हाउसको काउन्टरमा पेस्तोल देखाई ३ लाख ६१ हजार नगद लुटेको ।

घटना नम्बर ५

२०६३ भदौ २० गते राजन समेतका चार जनाले रोवल को–अपरेटिभ लि। को कार्यालययमा प्रवेश गरी पेस्तोल देखाएर नगद ११ लाख ३० हजार बराबरको धनमाल डाँका गरेर फरार भएको ।

घटना नम्बर ६

२०७५ मंसिर १२ गते सुनसरीको इटहरीस्थित आईएमईबाट पीडितलाई छुरा प्रहार गरी ३ लाख नगद डाँका गरेर भागेको ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार