Bal-Umang

Bal-Umang

उपेन्द्र यादवले भने : पप्पु कन्स्ट्रक्सनमाथि कारवाही हुनुपर्छ, मुख्यमन्त्री राउतलाई कडा निर्देशन

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पप्पु कन्स्ट्रक्सनले गल्ती गरेको भए कारवाही हुनपर्ने बताएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवको सचिवालयले दिएको जानकारी अनुसार उनले यसबारे अनुसन्धान गरेर कारवाही अगाडि बढाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई निर्देशन समेत दिइसकेका छन्। पार्टीका केन्द्रीय अध्यक्षको निर्देशनअनुसार राउतले पनि आन्तरिक रुपमा छानविन थालेका छन्।

फोरम सांसद हरिनारायण प्रसाद रौनियारका छोरा सुमितले सञ्चालन गर्दै आएको पप्पु कन्सट्रक्सनलाई जोगाउन उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएको हल्ला आएपछि यादवको यस्तो प्रतिक्रिया आएको हो। उनले विकास निर्माणका काम अल्झाउने, जनता र राज्यलाई ठग्ने जुनसुकै ठेकेदारलाई पनि कानूनको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिएका छन्। ‘गल्ती गर्ने ठेकेदारलाई कारवाही हुनुपर्छ। त्यो पप्पु कन्सट्रक्सन नै किन नहोस। गलत कुरालाई हाम्रो पार्टीले स्वीकार गर्दैन्’, उनले भने।

भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएपछि पुल नबनाएको भन्दै पप्पु कन्सट्रक्सनको कडा आलोचना हुँदै आएको छ भने अदालतले सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार