Bal-Umang

Bal-Umang

अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, बहुरुपिया वाम गठबन्धनदेखि सावधान

उपेन्द्र यादवले भने, मरुभूमिलाई समृद्ध जन्मभूमि बनाउँछु 
शहीदको तस्बीरमा माल्यार्पण गरी अन्तिम चुनावी सभा सम्पन्न
राजविराज १८, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मरुभूमिमा परिणत भइसकेको जन्मभूमि सप्तरीलाई समृद्ध क्षेत्र बनाउने उद्घोष गरेका छन् । सप्तरीलाई समृद्ध र विकासको दिशामा केन्द्रीत गर्न आफूसँग स्पष्ट भिजन र योजना रहेको यादवले बताए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.३ तोपामा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले समृद्ध जन्मभूमि आफ्नो सपना भएको बताए ।

सप्तरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार फोरम नेपालका अध्यक्ष यादवले एमाले र माओवादीको वाम गठबन्धन बहुरुपिया रहेको आरोप लगाउँदै त्यसबाट सावधान रहन आम जनतालाई अपील गरेका छन् । ‘बहुरुपिया वाम गठबन्धनबाट पूरै देशलाई खतरा छ, त्यसकारण उनीहरुबाट सावधान रहन जरुरी छ’– यादवले भने ।

मधेश गठबन्धनको जीतले मात्र मधेशको मुक्ति सम्भव रहेको स्पष्ट पार्दै यादवले दुई नम्बर प्रदेशमा फोरम नेपाल र राजपाको गठबन्धन भारी बहुमतले विजयी हुने दाबी गरेका छन् । मधेशको मुक्ति र सहीदको सपना पूरा गर्न मधेश गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको उनले बताए ।

शहीदलाई सम्झेर चुनाव प्रचारको शुभारम्भ र समापन
मलेठमा प्रहरीद्धारा गोलि हानी मारिएका ५ जना शहीदको समाधिमाथि फूलमाला अर्पण गरेर कात्तिक २५ गतेदेखि यादवले औपचारिक रुपमा चुनाव प्रचार प्रसारको शुभारम्भ गरेका थिए ।

ठीक त्यसैगरि, चुनाव प्रचारको अन्तिम दिन सोमबार तिलाठी कोइलाडीको तोपामा आयोजित चुनावी सभामा शहीदहरुको तस्बीरमा माल्यार्पण गरेर चुनाव प्रचारलाई समापन गरेका छन् ।

मौन अवधि सुरु हुनुअघि प्रचार प्रसारको अन्तिम दिन बिहानैदेखि सक्रिय रहेका यादवले तिलाठी कोइलाडीको सभालाई विशेष महत्वका साथ सम्बोधन गरेका छन् । कार्यक्रममा मधेश गठबन्धनको तर्फबाट क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका उम्मेदबार एवं फोरम नेपालका नेता शैलेन्द्र साह, क्षेत्र नं. २ प्रदेश सभा उम्मेदबार एवं राजपा नेता मनिष सुमन, फोरम नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिनेश यादव लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार