४२ लाख घुसकाण्डले उमेश यादव तनाबमा, उम्मेदबारी नै खारेज हुन सक्ने

काठमाडौं । वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदबार उमेश कुमार यादवले सिंचाई मन्त्री हुँदा ४२ लाख कुम्ल्याएको घुसकाण्ड यतिबेला फेरि चर्चामा छ । सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदबार रहेका उमेशको क्षेत्रमा त्यो घुसकाण्ड चर्चाको बिषय बनेको हो ।

एक वर्षअघि प्रचण्ड नेतृत्वको सरकारमा सिंचाई मन्त्री रहँदा बिना घुस कसैको काम नै नगर्ने उमेश यादवको छवि बनेको थियो । यादवको घुस्याहा बानीले गर्दा मन्त्रालय र विभागका कर्मचारी आजित बनेका थिए । मन्त्री हुँदा उनी पटकपटक विवादमा आइरहे । एमाओवादी कोटाबाट सिचाइँ मन्त्री बनेका यादवले आफ्नो कार्याकाल प्रारम्भ भएसँगै केही न केही हर्कत गर्दै आएका थिए ।

कमाउँ धन्दामा लागेका यादवलाई माओवादीले मन्त्री बनेको दुई महिनामै फिर्ता बोलाउन खोजेको थियो। तर, यादवले प्रचण्डलाई रोइकराई गरेर पद थमौती गरेका थिए ।

यस्तो छ घुसकाण्डको नालीबेली
सिचाइँ मन्त्रालय अन्तगर्तका विभिन्न स्थानमा कर्मचारीको पदस्थापन गर्दा मात्रै पनि उनले ४२ लाख रुपैया कुम्ल्याएका थिए । खासमा उनको मन्त्री क्वाटरमा हुलका हुल कर्मचारी छिरेपछि घूस प्रकरण बाहिरिएको थियो ।

ती कर्मचारीलाई गेटबाटै रिसिभ गरेर भित्र प्रवेश गराइएको थियो । मन्त्रीकै मान्छेले भित्र प्रवेश गराएपछि सुरक्षाकर्मीले त्यसको सोधीखोजी गरेनन् र गर्ने कुरा पनि भएन । तर, त्यसरी हुलका हुल कर्मचारी मन्त्री क्वाटरभित्र प्रवेश गर्नुको मुख्य उद्देश्य अर्कै थियो ।

स्रोतका अनुसार उनको उद्देश्य भनेको कर्मचारीबाट रकम लिनु थियो । उनले मन्त्री क्वाटरबाटै बिहीबार विभिन्न जिल्लाका रिक्त पदमा कर्मचारीलाई पदस्थापना गर्न कर्मचारीलाई निम्ता गरेका थिए ।

उनले गोप्यशैलीमा बोलाइएको निम्तामा पदस्थापन हुन चाहने कर्मचारी थिए । उनले ती कर्मचारीसँग खुलेर आफै रकमबारे डिल गरेका थिए । मन्त्री क्वाटरको सो निम्तामा मन्त्रालयका मनोज थापा, प्रकाश अधिकारी, धु्रव पौडेल, श्रीराम जोशी, यमनारायण, मुलसमान खाँलगायत उपस्थित थिए ।

उनीहरुले क्वाटरमा रक्सीको ब्राण्डसँगै रकमको डिल गरेका थिए । सोही डिलमा मन्त्री यादवले पोखरा जिल्ला सिँचाई प्रमुखका रुपमा पदस्थापना भएका श्रीराम जोशीबाट १५ लाख रुपैया हात पारेका थिए ।

मन्त्री यादवले कमाई हुने स्थानमा जान चाहनेका लागि सोही बमोजिम डिल गरेका थिए । बर्दिया जिल्ला सिँचाई कार्यालय प्रमुखका रुपमा पदस्थापना भएका मनोज थापाले २ लाख ५० हजार रुपैया बुझाए ।

गुल्मी जिल्ला प्रमुखका रुपमा पदस्थापना भएका धुव पौडेलबाट ३ लाख, सिन्धुपाल्चोक जिल्ला सिँचाई प्रमुखका रुपमा पदस्थापना भएका प्रकाश अधिकारीबाट ५ लाख ५० लाख, दाङ जिल्ला पुगेका शाह थरका एक कर्मचारीबाट १० लाख र बागलुङ जिल्ला सिँचाई प्रमुखका रुपमा पदस्थापना भएका यमनारायणबाट ३ लाख रकम लिएका थिए ।
साभार : नेपालपाना

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार