रंगेली घटना पोखरेलकै डिजाइनमा भएका हो: दुर्गामणि सुवेदी

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामाणि सुवेदीले रंगेली घटनाका नायक एमाले नेता ऋषि पोखरेल नै भएको जिकिर गरेका छन् ।

मधेस आन्दोलनका बेला मोरङको रंगेलीमा तिन जना आन्दोलनकारीको मृत्यु भएको थियो ।
सो घटना पोखरेलकै डिजाइनमा भएको सुवेदीको दाबी छ । पोखरेल मोरङ–२ का बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

पूर्व क्षेत्रको मधेस आन्दोलनको केन्द्र मानिने रंगेलीमा एमालेले आमसभा गरी आन्दोलन कमजोर पार्न खोजेको थियो । एमालेले मधेस आन्दोलन तुहाउने र दमन गर्ने नीति लिदै आएको थियो ।
रंगेलीमा एमालेको सभा हुने भएपछि आन्दोलनकारी र स्थानीयले विरोध जनाएका थिए ।
स्थानीयको विरोधकै बाबजुद आमसभा गर्दा अप्रिय घटना घट्न सक्ने स्थानीय प्रशासनको पनि ठहर थियो ।
आमसभाको अघिल्लो दिन सर्वदलीय बैठक बस्दा तत्कालका लागि एमालेको सभा स्थगित गर्नु नै उपयुक्त हुने निचोड निक्लेको थियो ।

‘तर एमालेले जसरी भए पनि सभा गरेरै छोड्ने अडान लियो, त्यसको नेतृत्व ऋषि पोखरेलले गरे,’ संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार समेत रहेका सुवेदीले भने, ‘ऋषि पोखरेलले सभा सफल पार्नका लागि ठाउँठाउँबाट बसबाट मानिसहरु भेला गर्ने काम गरे । प्रहरी प्रशासनकै आडमा सभा भयो । स्थानीयले विरोध गरे, एमाले नेता कार्यकर्ताहरु स्थानीमाथि जाइलागे । त्यही मौकामा प्रहरीले गोली चलाए र तिनजनाको मृत्यु भयो ।’
सुवेदीले पोखरेल हत्यारा भएकोले रंगेली घटनाका साक्षी जनताले उनलाई भोट नदिने बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार