Bal-Umang

Bal-Umang

सरकारमा जान राजपाको अनौठो शर्त, राजेन्द्र महतोलाई छटपटी

नेपालगञ्ज । तराई केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुन अनौठो शर्त अघि सारेको छ। सुरुदेखिनै केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन इच्छुक अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले टीकापुर घटनाका नाइके रेशम चौधरीलाई रिहा गरे आफूहरु सरकारमा जान तयार रहेको बताएका छन्।

सुरुमा संविधान संशोधन एजेण्डा बोकेको राजपा यो एजेण्डासहित संघीय समाजवादी फोरम सरकारमा गएपछि अब रेशम चौधरीको मुद्दा बोकेर सरकारमा जान तयार भएको छ। नेपालगञ्जमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य महतोले रेशम चौधरीको रिहाई र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा सहभागी हुने बताए।

‘सरकारलाई समर्थन गर्नु अपराध होइन दुई तिहाइको सरकारलाई अझ बलियो बनाउन हामीले समर्थन गरेका हौँ,’ महतोले भने, ‘साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।’

रेशम टीकापुर घटनाका मुख्य योजनाकार रहेको आरोपमा अहिले पुर्पक्षका लागि थुनामा छन् । ७२ साल भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक नाबालक सहित ९ जना प्रहरीको निर्ममतापूवर्क हत्या भएको थियो ।

संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उनको भनाई थियो। संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार