Bal-Umang

Bal-Umang

प्रेस स्वतन्त्रतालाई असर नपर्ने गरी खुला बन्यो गोप्य विधेयक

काठमाडौँ । सार्वजनिक पदमा रहेका व्यक्तिको मात्र नभई समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको छ ।सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले परिमार्जन गरी सार्वजनिक पदमा रहेका, सार्वजनिक रूपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरूको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको हो ।

विधेयकमा सम्पत्तिसम्बन्धी विवरण, शैक्षिक योग्यता, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत पहिचान खुल्ने विवरण सार्वजनिक गर्न यो विधेयकले रोकतोक नगर्ने प्रावधान छ । कुनै अपराधको अनुसन्धान वा अभियोजन गर्ने सम्बन्धमा कुनै व्यक्तिगत सूचना वा विवरण प्राप्त गर्न पनि विधेयकले खुला गरेको छ । सरकारले ल्याएको विधेयकमा यी सबै विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो ।

समितिको अध्यक्षता गरेकी ज्येष्ठ सदस्य मीना पाण्डेले विधेयकको दफावार छलफलमा प्रेस स्वतन्त्रतालाई असर नपर्ने व्यवस्था थप गरेर प्रतिवेदन तयार गरिएको बताइन् । ‘विधेयकमा प्रेस स्वतन्त्रता मर्न नदिने व्यवस्था थप गरिएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको प्रमाणपत्र, सम्पत्ति विवरणलगायत सार्वजनिक गर्न पाइन्छ,’ उनले भनिन्, ‘सरकारले ल्याएको विधेयकमा सबै गोप्य थियो । हामीले खुला बनायौं ।’

राज्य व्यवस्था समितिले विधेयक परिमार्जन गर्दै पेस गरेको प्रतिवेदन प्रतिनिधिसभाको शनिबारको बैठकले पारित गरेको छ । अब राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि असोज ३ देखि यो कानुन कार्यान्वयनमा आउनेछ । संविधानमा भएको गोपनीयताको हक कार्यान्वयन गर्न यो कानुन बनाइएको हो ।

यो विधेयकमा सार्वजनिक हित तथा पारदर्शिता कायम गर्न र अनुसन्धानमूलक पत्रकारिता गर्न वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले रोक नलगाउने व्यवस्था स्पष्ट उल्लेख छ । छापाखाना तथा पत्रपत्रिका र राष्ट्रिय प्रसारणसम्बन्धी प्रचलित कानुनले निषेध गरेको सूचनाबाहेक अन्य सूचना सार्वजनिक गर्न बाधा नपर्ने प्रावधान यो विधेयकमा राखिएको छ । विधेयकमा भनिएको छ, ‘अनुसन्धानमूलक पत्रकारिता गर्ने सिलसिलामा प्राप्त गरेको वा संकलन गरेको कुनै सूचना, जानकारी, तथ्यांक, समाचार र तस्बिर व्यक्तिको गोपनीयताका आधारभूत मान्यता प्रतिकूल नहुने गरी प्रकाशन वा प्रसारण गर्न वा कुनै किसिमले सार्वजनिक गर्न बाधा पुर्‍याएको मानिने छैन ।’

विधेयकको दफा १६ मा कसैको मन्जुरीबिना तस्बिर खिच्न नपाइने व्यवस्थालाई आमसञ्चार माध्यममा लागू नहुने प्रावधान समितिले थप गरेको छ । त्यस्तै सार्वजनिक रूपमा व्यक्त गरेको मन्तव्य, विचार वा सार्वजनिक रूपले आयोजित कार्यक्रममा खिचिएको श्रव्यदृश्य तथा तस्बिर प्रकाशन गर्न पनि यो विधेयकले सहज बनाएको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति वा सार्वजनिक रूपमा चिनिएका व्यक्तिले व्यक्त गरेको मन्तव्य, विचार र उसले गर्ने सार्वजनिक कामको टिकाटिप्पणी गर्न रोक नलाग्ने व्यवस्था विधेयकमा छ ।

समितिले व्यक्तिको परिभाषा गरेर सार्वजनिक पद धारण गरेको, सार्वजनिक पदमा नियुक्ति, मनोनयन वा निर्वाचित हुने औपचारिक प्रक्रियामा रहेको र पदमा सिफारिस भएका व्यक्तिको विवरण सार्वजनिक गर्न बाधा नपर्ने व्यवस्था राखेको छ । त्यस्तै सार्वजनिक पदमा सेवानिवृत्त वा पदमुक्त भएको व्यक्ति, सार्वजनिक रूपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिको पनि व्यक्तिगत सूचना वा विवरण गोप्य हुने छैन ।कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार